व्यक्ति हत्याका तीन आरोपीद्वारा रुकुम प्रहरीमा स्वेच्छिक गिरफ्तारी
ज्ञानु गौतम,नेपालगञ्ज माघ १२ -व्यक्ति हत्याका आरोपीले आज रुकुम प्रहरी कार्यालयमा स्वेच्छिक गिरफ्तारी दिएका छन् । गत पौष १६ गते मृत अवस्थामा भेटिएका नेपाली कांग्रेस दुली गाविस सभापति कविराम खत्रीको हत्याका तीन जना आरोपीहरुले आफैँ प्रहरी कार्यालयमा आएर गिरफ्तारी दिएको जिल्ला प्रहरी प्रमुख डिएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभएको छ ।
पक्राउ पर्नेहरुमा एकीकृत माओवादी सम्वद्व दुली ५ का ३५ वर्षीय गमबहादुर कुसारी, २७ वर्षीय अलबहादुर कुसारी र २४ वर्षीय तुलबहादुर देवकोटा रहेको छन् । उनीहरुको बारेमा कानुनी कारबाही थालिएको र आजै नै जिल्ला अदालतबाट सात दिनको म्याद थपिएको डिएसपी भट्टले जानकारी दिनुभएको छ । उनिहरुले आफैँ सदरमुकाम खलंगा पुगेर स्वेच्छिक गिरफ्तारी दिएका हुन । मृतक कविराम खत्रीको पत्नी रणमति खत्रीले माघ ३ गते जिल्ला प्रहरी कार्यालय रुकुममा ओरोपितहरुलाई कर्तव्य ज्यान सम्बन्धि किटानी जाहेरी दिनुभएको थियो । गत पुष १३ गते बेपत्ता कविराम १६ गते दुली गाविसकै राम्री जंगलमा मृत अवस्थामा फेला पर्नुभएको थियो ।
