|

दैलेखका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमूखलाई फिर्ता बोलाइयो

ज्ञानु गौतम,नेपालगञ्ज माघ १२ -प्रधानमन्त्री डा बाबुराम भट्टराई सहभागी सार्वजनिक कार्यक्रममा गतिलो सुरक्षा व्यवस्था मिलाउन नसकेको भन्दै सरकारले दैलखका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई फिर्ता वोलाएको छ ।

दैलेखमा हिजो आयोजित एकीकृत माओवादीको जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री समेत रहनुभएका उपाध्यक्ष डा बाबुराम भट्टराई सहभागी कार्यक्रममा उचित सुरक्षा व्यवस्था मिलाउन नसकेको भन्दै सरकारले प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, प्रहरी प्रमुख शारदाप्रसाद चौधरी, प्रहरी निरीक्षकहरु इन्द्र सुवेदी र किरण न्यौपानेलाई आज फिर्ता वोलाएको हो । प्रमुख जिल्ला अधिकारी ढकाललार्इ गृह मन्त्रालयले मन्त्रालयमा हाजिर हुन पत्र पठाइएको छ ।

डीएसपी चौधरी र दुई इन्सपेक्टरले कमाण्डरको आदेश नमानेको, बिपक्षीसँग मिलेर कार्यक्रम स्थलसम्म बिपक्षीलाई पुग्न दिएको लगायतको अभियोग प्रहरी अधिकारीमाथि लगाइएको छ । जिल्लाको प्रहरीले कमाण्डको आदेश नमान्ने अबस्था आएपछि सुर्खेतबाट डीआईजीको नेतृत्वमा अर्को बेग्लै प्रहरी दस्ता लगेर प्रधानमन्त्री सहितका भीआईपीको सुरक्षा गर्नुपरेको थियो । यसैबीच सरकारले गृह मन्त्रालयका सहसचिव लक्ष्मी ढकालको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरेको छ । दैलेखमा हिजो भएको घटनाको छानविन गर्न चार सदस्यीय छानविन समिति ठन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

यसैबीच, सरकारी दमनको बिरोध गर्दै दैलेखका विद्यार्र्थीहरुले आज प्रधामन्त्रीको पुतला जलाएका छन् । नेविसंघ र अनेरास्ववियु लगायतका संगठनहरुले दिउँसो सदरमुकाममा प्रदर्शनसहित पुत्ला जलाएका हुन् । हिजोको घटनालाई लिएर कर्मचारी सरुवा गरेको भन्दै आन्दोलन थालेको विद्यार्थीहरुले बताएका छन् । विद्यार्थीहरुले पत्रकार डेकेन्द्रराज थापाको हत्या अनुसन्धानमा रहेका दैलेखका सरकारी कार्यालयका कर्मचारीहरुलार्ई सरुवा गरेको र हिजो लडाकु माओवादी कार्यकर्ता र सुरक्षा संयन्त्रले आन्दोलनकारीलाई अश्रुग्यास, फायर र ढुंगामुडा प्रहार गरेको भन्दै एकीकृत माओवादी र सरकारको विरोध गरेका छन् ।

Posted by Butwalonline on 6:00 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " दैलेखका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमूखलाई फिर्ता बोलाइयो"

Leave a reply