अध्यक्ष दाहाल फिर्ता भएपछि कार्यकर्ताहरू भने निरास
ज्ञानु गौतम,नेपालगञ्ज माघ १२ -एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल मुगुमा पार्टीको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा भाग नलिएरै फर्कनुभएको छ ।
मुगुको रारा पुग्नुभएका अध्यक्ष दाहालसहितको टोली मुगुको गमगढी नझरेर सुर्खेततर्फ आएपछि जिल्ला तहका नेताबाट सम्मेलनको उद्घाटन गरिएको थियो । अध्यक्ष दाहाल फिर्ता भएपछि कार्यकर्ताहरू भने निरास बनेका थिए । दाहालसहित प्रधानमन्त्री एवम् उपाध्यक्ष डा बाबुराम भट्टराई लगायतका नेताहरु सदरमुकाम गमगढी आउने भनिएपछि प्रतिपक्ष दलहरुले माओवादी नेता र सरकारविरुद्ध प्रदर्शन गर्ने तयारी गरेपछि उहाँहरू फर्कनुभएको हो । हुम्ला सदरमुकाम पुगेको दाहालको टोलीले जिविसको हलभित्र सम्मेलनको उदघाटन गरि फर्केको थियो । गमगढीमा सरकारका विरुद्ध आन्दोलन गरिरहेका आन्दोलनरत दलहरुलाई नेताहरु आउँदा विरोध नगर्न स्थानीय प्रशासनमा छलफल हुँदा दलहरुले जस्तोसुकै अवस्था आए पनि विरोध कार्यक्रम नरोक्ने बताएका थिए ।
प्रधानमन्त्री डा बाबुराम भट्टराईले सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुलाई जनताको काम छिटोछरितो र पारदर्शी ढङ्गले गर्न निर्देशन दिनुभएको छ । एकिकृत माओवादीको जिल्ला अधिवेशनलाई सम्बोधन गर्ने क्रममा हुम्लामा पुग्नुभएको एकिकृत माओवादी उपाध्यक्ष तथ प्रधानमन्त्री भट्टराईले कर्मचारीहरुलाई यस्तो निर्देशन दिनुभएको हो । कर्णाली राजमार्गलाई नेपाली सेनाको जिम्मामा दिने बताउँदै उहाँले सरकारले कर्णालीको पाँच जिल्लालाई सडक मार्गमा जोड्ने कार्यलाई प्राथमिकता दिइरहेको बताउनुभयो । २१ वर्षपछि हुन लागेको महाधिवेशन पूर्व केन्द्रमा आफूहरु एक ढिक्का भएको सन्देश दिदै एमाओवादी नेतृत्व एकसाथ जिल्ला अधिवेशनमा सहभागी हुदै आएको छ ।
