छ वर्षकी बालिकालाई बलात्कारगर्नेलाई गाउँलेले गरे धोबी-धुलाई
बारा, पुस २० - घरनजिकै भएको पूजामा सहभागी भएर फर्कँदै गरेकी छ वर्षकी बालिकालाई बलात्कार गरेको भन्दै बाराको बलिरामपुरको घोघरियामा एक आरोपीलाई गाउँलेले रातभर बाँधेर कुटेका छन्। दाइजस्तो मानेका २५ वर्षका वकिल पडितले नै घर फर्कँदै गर्दा सिसौको रुखहरु भएको ठाउँमा लगी बलात्कार गरेको आरोप बालिकाका आफन्तले लगाएका छन्।
राति घर आउँदा रगत बगेको देखेपछि बालिकालाई जबर्जस्ती गरेको थाहा भएको आफन्तहरु बताउँछन्। आफन्तहरुले होहल्ला गरेपछि गाउँलेहरुले आरोपीलाई नियन्त्रणमा लिई कुटपिट गरी रातभर बाँधेर राखेका थिए। आज बिहान उनीहरुले गाउँबाट पाँच किलोमिटर टाढा रहेको बारा जिल्ला प्रहरी कार्यालयमा आरोपीलाई जिम्मा लगाएका छन्।
प्रहरीले बालिकाको मेडिकल परीक्षणपछि मात्रै कारबाही अघि बढ्ने बताएको छ। परीक्षणका लागि बालिकालाई कलैया अस्पताल लगिएको छ। स्रोत : नागरिक न्यूज