|

युएईमा नेपाली कामदारको तलब बृद्धि

काठमाडौ, कार्तिक १८ - श्रम तथा रोजगार मन्त्रालयले संयुक्त अरब इमिरेट्स (यूएई) मा जाने नेपाली कामदारको न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ । मन्त्रालयले कामदारलाई अदक्ष, अर्धदक्ष, दक्ष र उच्चदक्ष ४ भागमा वर्गीकण गरी छुट्टाछुट्टै पारिश्रमिक निर्धाण गरेको हो ।

मन्त्रालयका अनुसार अदक्ष कामदारको न्यूनतम पारिश्रमिक ८ सय डिराम्स र खाना भत्ता ३ सय गरी ११ सय दिराम्स (२५ हजार रुपैयाँ) निर्धारण भएको छ । १ लाख ६० हजारभन्दा बढी कामदार कार्यरत यूएईमा सबैभन्दा बढी अदक्ष कामदारछन् । अर्धदक्ष कामदारको खाना भत्ता ३ सय र न्यूनतम पारिश्रमिक १ हजार गरी १३ सय, दक्ष कामदारको खाना भत्ता ३ सय र पारिश्रमिक १२ सय गरी १५ सय र उच्च दक्ष कामदारलाई खाना भत्ता ५ सय र पारिश्रमिक ५ हजार गरी ५५ सय डिराम्स तोकिएको छ । मन्त्रालयले न्यूनतम पारिश्रमिक ओभरटाइम बाहेक भएको जनाउँदै रोजगारदाताले खाना निःशुल्क दिनुपर्ने, खाना नदिए खाना भत्तास्वरूप अरूलाई ३ सय र उच्च दक्षलाई ५ सय डिराम्स दिनुपर्ने बताएको छ । कामदारलाई आवास, औषधि उपचार, दुर्घटना बिमा, काममा जाने-फर्किने यातायात र यूएईको श्रम कानुनअनुसार गर्नुपर्ने अन्य खर्चहरू रोजगारदाताले नै बेहोर्नुपर्ने निर्णय गरेको छ ।

श्रम मन्त्रालयको वैदेशिक रोजगार महाशाखाका प्रमुख सहसचिव विनोद केसीले दूतावासको सिफारिसअनुसार वैदेशिक रोजगार विभाग, व्यवसायीसँगको छलफल गरेर न्यूनतम पारिश्रमिक निर्धारण भएको जनाउँदै यसले कामदारको आर्थिक स्तरमा सुधार र राष्ट्रिय अर्थतन्त्रलाई टेवा पुग्ने बताए । नेपाली दूतावास भएका खाडीका साउदी अरब, कतार र कुवेतमा कामदारका न्यूनतम पारिश्रमिक निर्धारण भए पनि यूएईमा हालसम्म भएको थिएन । मन्त्री स्तरीय निर्णयबाट युएइको लागि पहिलो पटक न्यूनतम पारिश्रमिक निर्धारण भएको हो । २००४ अप्रिलमा दूतावासले सुरुमा १ सय २५ डलर (साढे ४ सय डिराम्स) र पछि ६ सय डिराम्समा कामदारको माग प्रमाणीकरण गर्दै आएको थियो ।
स्रोत :कांतिपुर

Posted by Butwalonline on 7:45 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "युएईमा नेपाली कामदारको तलब बृद्धि "

Leave a reply