|

पर्वतमा कुखुराले दियो १८१ ग्राम तौल भएको ठूलो अन्डा

पर्वत, कात्तिक १७ - स्थानीय जातको कुखुराले कति ठूलो अन्डा दिन्छ होला ? तपार्इँ हामीले पत्याउनै नसक्ने गरी सदरमुकामका व्यवसायीले पालेको स्थानीय जातको कुखुराले भने १८१ ग्राम तौल भएको ठूलो अन्डा दिएको छ ।

साधारणतया स्थानीय जातको कुखुराले ५० ग्रामको अन्डा दिने गरे पनि कुस्माबजारको प्रगतिचोकका व्यवसायी विषमकुमार श्रेष्ठले पालेको कुखुराले बिहीबार दिउँसो १८१ ग्राम तौल भएको अन्डा दिएको छ । पत्याउनै नसक्ने गरी ठूलो तौल र आकारको अन्डा दिएपछि श्रेष्ठको घरमा अन्डा हेर्नेहरुको सानोतिनो भिड नै लागेको छ ।

स्थानीय जातको कुखुराले अरू बेला सामान्य तौलको अन्डा दिए पनि बिहीबार ठूलो अन्डा पारेको व्यवसायी श्रेष्ठले बताए। बुधबार सोही कुखुराले जम्मा ४६ ग्राम तौल भएको अन्डा दिएको थियो । ‘सँधै पार्नेभन्दा तेब्बर ठूलो अन्डा पारेको देखेपछि सुरुमा आफैँ अचम्ममा परेँ' श्रेष्ठले भने- "पत्याउनै नसक्ने गरी अन्डा पारेपछि अरुलाई पनि यसले अचम्मित बनाएको छ ।"

सामान्यतया स्थानीय जातको कुखुराले ४० देखि ५० ग्राम र उन्नतजातको कुखुराले ७० ग्राम तौलसम्मको अन्डा पार्ने गर्छ तर एकै दिनमा तेब्बरभन्दा पनि ठूलो आकार र तौलको अन्डा पार्ने घटना अनौठो भएको जिल्ला पशुसेवा कार्यालय पर्वतका प्रमुख दीर्घनाथ ढुङ्गानाले बताए। उनले कुखुराले नियमित रुपमा दिनदिनै अन्डा दिनुपर्नेमा दुईचार दिन अन्डा नदिई रोकिएमा ठूलो आकारमा निस्कन सक्ने बताए । श्रेष्ठले भने बुधबार र मङ्गलबार पनि उक्त कुखुराले नियमितरुपमा अन्डा दिएको जानकारी दिए।

यसबाहेक कुखुराको डिम्बाशयबाट पहेंलो भाग एक पटकमा एउटा मात्रै आउनुपर्नेमा एकै पटक तीनवटासम्म आएमा पनि ठूलो आकार तथा तौलको अन्डा उत्पादन हुन सक्ने बताए । "यस्तो कहिलेकाहीँ मात्रै हुन्छ"- उनले भने- "यस्तो अन्डा खानका लागि भने उपयुक्त नै हुन्छ ।"

अन्डा अन्यभन्दा केहीमात्रामा बढी सेतो छ । बिहीबार नै चितवन भरतपुर ११ भोजाडका कृषक खेम सुवेदीको खोरमा पालेको कुखुराले दुई ग्राम तौल भएको अन्डा पारेको खबर सार्वजनिक भएको थियो । चितवनमा उत्पादन भएको सो अन्डालाई गिनिज बुकमा विश्वरेकर्ड कायम गराउन लैजाने तयारी भएको छ तर श्रेष्ठले पालेको कुखुराले दिएको अन्डा नै विश्वमा सबैभन्दा ठूलो हो वा होइन भन्नेबारेमा भने यकिन भएको छैन । रासस (स्रोत : नागरिक न्यूज)

Posted by Butwalonline on 9:33 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " पर्वतमा कुखुराले दियो १८१ ग्राम तौल भएको ठूलो अन्डा "

Leave a reply