स्याङ्जामा आगालागी हुँदा रु पचास लाखबराबरको क्षति
स्याङ्जा, पुस २५- अर्जुनचौपारी-५ स्थित अर्जुनचौपारी बजारको एक घरमा आगालागी हुँदा रु पचास लाखबराबरको क्षति भएको छ। प्रहरी चौकी अर्जुनचौपारीका अनुसार स्थानीयवासी धर्मदत्त काफ्लेको पक्की घरमा आगलागी हुँदा सातकोठे पक्की घरमा फेन्सी पसल, रु एक लाख ५० हजार तथा जिन्सी सामान जलेर नष्ट भएको अर्जुनचौपारी प्रहरी चौकीले जनाएको छ।गए रातिदेखि लागेको आगो आज बिहान मात्रै प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरी चौकीका इन्चार्ज शिवकुमार पौडेलले जानकारी दिए। आगलागीका कारण भने अहिलेसम्म खुल्न सकेको छैन। आगलागीबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ।
पीडित काफ्लेले राति घरको अगाडिको भागबाट कसैले रिसइबीका आधारमा आगो लगाइदिएको हुन सक्ने बताए। उनले आगो लगाइदिने मानिससमेत आफूले पहिचान गरेको भए पनि हालसम्म प्रहरीमा किटानी नदिइएको बताए। रासस(स्रोत : नागरिक न्यूज )