कारागारमा कैदीबन्दीबीच भएको झडपमा काँग्रेस कार्यकर्ताको मृत्यु
सिन्धुली, पुस १९ - सिन्धुलीमा तनाव भएपछि अनिश्चितकालीन कर्फ्यू जारी भएको छ । कारागारमा कैदीबन्दीबीच भएको झडपमा काँग्रेस कार्यकर्ता निरज देवकोटाको ज्यान गएको विरोधमा काँग्रेसले गरेको प्रदर्शन उग्र भएपछि कर्फ्यू आदेश जारी भएको हो ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सिन्धुलीको वर्देउटार, गड्यौली खोला, पानीट्ङकी, मधुटार, झुराबजार, ढुङ्ग्रेवास बजार, गड्यौली खोला पूल आसपासका ठाउँमा अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको जनाएको छ ।
काँग्रेस कार्यकर्ता र देवकोटाका आफन्तले प्रशासन कार्यालयमा तोडफोड गर्दै गरेको प्रदर्शनमा प्रहरीले लाठी चार्ज गर्दा १० जना घाइते भएका छन् । प्रदर्शनकारीको ढुङ्गा लागेर प्रहरी जवान बलाम मिया पनि घाइते हुनु भएको छ ।
सिन्धुलीका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले घटनाको छानविनका लागि कारागार व्यवस्था विभागका महानिर्देशक शम्भु कोइरालाको संयोजकत्वमा तीन सदस्यीय छानवीन समिति गठन भए पनि प्रदर्शन नरोकिएकाले कर्फ्यू लगाउनु परेको जानकारी दिनुभयो । स्रोत : उज्यालो नेटवर्क