|

काठमाडौं विमानस्थलमा बाँदरराज

श्याम भट्ट, काठमाडौं, साउन १२- फोहोर व्यवस्थापनको अभावमा पहिल्यैदेखि चराको समस्या झेलिरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा अहिले बाँदरको जगजगी छ। पशुपति क्षेत्रका बाँदरहरू गल्फकोर्स र नेपाल वायुसेवा निगमको ह्यांगरबाट पसेर धावनमार्गसम्म पुग्ने गरेका छन्। जहाजमा बाँडिने खानेकुराको रहलपहलले बाँदरलाई लोभ्याउने गरेको हो।  'यात्रुले खाएर बचेका खानेकुरा कन्टेनरमा फाल्ने गरिन्छ, त्यसैलाई ताकेर बाँदरहरू विमानस्थल छिर्छन्,' विमानस्थालका महाप्रबन्धक रतिशचन्द्रलाल सुमनले नागरिकसँग भने, 'यसले विमानस्थलको सुरक्षामा चुनौती थपेको छ।'

धावनमार्गमै बाँदर छिरेर उपद्रो मच्चाउन थालेपछि विमानस्थलले तिनीहरूलाई धपाउन विभिन्न उपाय अपनाइरहेको छ। तर, प्रभावकारी हुन सकेको छैन। कहिले लठ्ठीले तर्साएर त कहिले बन्दुक पड्काएर धपाउने प्रयास गरिए पनि सफल नभएको विमानस्थलको ग्राउन्ड फ्लाइट सेफ्टीका उपनिर्देशक देवचन्द्रलाल कर्णले बताए।
विमानस्थलमा जहाजबाट बचेका खानेकुरा थुपार्न र अन्य फोहोर संकलन गर्न २० वटा जति कन्टेनर छन्। ती कन्टेनरमा राम्ररी फोहोर व्यवस्थापन नगरिनुले नै बाँदर र चराको समस्या देखिएको सम्बद्ध अधिकारीहरू बताउँछन्। उनीहरूका अनुसार विमानस्थलभन्दा पूर्वतिरको मकैबारीले पनि बाँदरलाई आकर्षित गरेको छ।

'मकैबारीसम्म पुग्ने बाटोको बीचमा धावनमार्ग पर्‍यो,' कर्णले भने, 'नियन्त्रणका अनेक उपाय अपनाउँदा पनि समस्या बढेको बढ्यै छ।' बाँदरदेखि हैरान भएपछि विमानस्थल प्रशासनले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँग पनि गुहार मागिसकेको छ। यसअघि चराहरूले दुःख दिएपछि विभागका पाँच शिकारी दुई वर्षदेखि विमानस्थलमै खटाइएका छन्। यसपालि भने विभागले पनि तत्कालै बाँदर समात्ने कुनै उपाय सुझाउन सकेको छैन।

'सुरक्षाको उपाय भनेको बाँदरहरूलाई समातेर अर्को ठाँउमा स्थानान्तरण गर्नु हो,' विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यले भने। हालैको एक अध्ययनअनुसार पशुपति क्षेत्रमा करिब १ हजार ५ सय बाँदर रहेको पशुपति विकास कोषका सदस्य-सचिव सुशील नहाटाले जानकारी दिए। बाँदरमाथि विद्यावारिधि गरेका मुकेश चालिसेले एक वर्षअघि गरेको अध्ययनमा पशुपति क्षेत्रभित्र ३ सय ५० देखि ४ सय ५० बाँदर पाइएका थिए।

दुई सय ६१ हेक्टरमा फैलिएको पशुपति क्षेत्रका भण्डारखाल वन, मन्दिर प्रांगण, कोष हाता र श्लेषमान्तक वनमा बाँदरका छुट्टाछुट्टै समूह बसोबास गरिरहेको पछिल्लो अध्ययनले देखाएको छ। यी बाँदरले पशुपति क्षेत्रमै दिनहुँ टेलिफोनका तार चुँडाल्ने, वाकीटाकीको एन्टेना भाँच्ने, मन्दिरका त्रिशुल, गजुरलगायत मसिना काष्ठ र धातुकलामा क्षति पुर्‍याउने गरेका छन्। तर, विमानस्थलमा उपद्रो मच्चाएको विषयमा हालसम्म सम्बन्धित निकायबाट गुनासो नआएको नहाटाले बताए।
चालिसेका अनुसार संरक्षण सूचीमा नपरेका पशुपतिका राता बाँदर (रेसस मंकी) खानेकुरा अभावले नै विमानस्थलसम्म पुगेका हुन्। यी राता बाँदरलाई अत्यधिक उत्पात् मच्चाउने जातिका रूपमा लिने गरिएको उनले जानकारी दिए।

'बर्खा याम बाँदरको प्रजनन समय भएकाले यतिबेला तिनीहरूको संख्या बढी देखिन्छ,' उनले भने, 'बढी आहाराको खाँचो पनि यतिखेरै पर्छ।'
साभार :नागरिक न्यूज

Posted by Butwalonline on 7:31 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "काठमाडौं विमानस्थलमा बाँदरराज"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु