|

दलीय स्वार्थका लागि विद्यार्थीलाई मोहरा बनाउनहुंदैन-सी.पी. मैनाली

लक्ष्मण पोखरेल,बुटवल,मंसिर ३–  नेकपा (माले) र का महासचिव सी.पी. मैनालीले कुनै पनि राजनीतिक दल तथा समूहले आफ्नो निहित स्वार्थका लागि विद्यालयका विद्यार्थीलाई मोहरा बनाउन नहुने बताउनुभएको छ ।

‘बालबालिका शान्ति क्षेत्र अभियान’ अन्तर्गत विद्यालय शान्ति क्षेत्र प्रतिवद्धता सङ्कलनका लागि आज शिक्षा पत्रकार समूहको टोलीसँगको भेटघाटका क्रममा  महासचिव मैनालीले आफ्नो पार्टीले विद्यार्थी र बाल बालिका लाई मोहरा बनाउने काम नगर्ने जनाउनुभयो ।

उहाँले शिक्षकहरुले पनि आफ्नो माग पूरा गराउने नाममा विद्यालय बन्द गरेर विद्यार्थीको पढ्न पाउने अधिकारको हनन् गर्न नहुनेमा जोड दिनुभयो । विद्यालय शान्ति क्षेत्रको अवधारणालाई नेकपा (माले) ले सहमत भएको तर विद्यार्थीले पठन पाठनका विषयसँग सम्बन्धित कुनै माग वा समस्या सुनुवाई नभएमा उनीहरुले आवाज उठाउन वा विरोध गर्न पाउनुपर्ने र त्यस्तो कार्यलाई शान्तिविरोधी मान्न हुने पनि बताउनुभयो ।

यसैगरी, समूहको टोलीले आज नेकपा (संयुक्त) का अध्यक्ष चन्द्रदेव जोशीलगायतका नेताहरुसँग पनि भेटवार्ता गरेको छ ।समूहका अध्यक्ष प्रकाश सिलवालले विद्यालय शान्ति क्षेत्रबारे सरोकारवालाको बुझाई र जिल्लागत अवस्थाबारे अवगत गराउनुभयो । त्यस क्रममा अध्यक्ष जोशीले विद्यालय शान्ति क्षेत्र हुनुपर्नेमा कुनै विमति नरहेको तर शिक्षा प्रणालीमा परिवर्तनका साथै व्यावसायिक शिक्षाका  लागि सरकारले योजना ल्याउनुपर्ने धारणा राख्नुभयो ।

Posted by Butwalonline on 6:03 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दलीय स्वार्थका लागि विद्यार्थीलाई मोहरा बनाउनहुंदैन-सी.पी. मैनाली"

Leave a reply