सरकार समाप्त पारेर राष्ट्रपतिलाई राजा बनाउन खोज्दै विपक्षिदलहरु
लक्ष्मण पोखरेल,बुटवल,मंसिर ३–शान्ति तथा पुनर्निमाण मन्त्री टोपबहादुर रायमाझीले विपक्षि दलहरुले सरकार समाप्त पारेर राष्ट्रपतिलाई राजा बनाउने खेलमा लागेको आरोप लगाएका छन् ।
विपक्षि दलहरुले काम चलाउ सरकार भनेकामा रोष प्रकट गर्दै एकीकृत नेकपा माओबादीका स्थायी कमिटी सदस्य समेत रहेका मन्त्रि रायमाझीले सरकार काम चलाउ भए राष्ट्रपति पनि काम चलाउ हुने तर्क गरे ।उनले त्यही संसदले चुनेको सरकार काम चलाउ हुने त्यही संसदले चुनेको राष्ट्रपति काम चलाउ नहुने भनि प्रति प्रस्न गरे ।
राष्ट्रपतिको बैधानिकतामा प्रश्न उठाउदै उनले भने–“सरकार अवैधानिक हँुदा राष्ट्रपति बैधानिक रहने कुरै आउँदैन ।” रिपोटर्स क्लव नेपाल लुम्बिनीले आईतबार बुटवलमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्रि रायमाझीले माओवादीले अहिलेको अबस्थामा कुनै पनि हालतमा सरकार नछाड्ने बताए ।
बर्तमान सरकारले राजिनामा दिँदा देशमा झन ठूलो भयावहको अवस्था आउने भएकाले माओवादी कुनै पनि हालतमा सरकार नछाड्ने मनस्थितीमा पुगेको बताउदै उनले देशलाई अराजकताको भुमरीमा पारेर सरकारले राजिनामा नदिने प्रस्ट पारे ।
अर्को सरकार निर्माणका लागि कानुनी तथा संवैधानिक बाटो पनि नभएकाले सरकारले यतिवेला राजिनामा दिँदा मुलुक अराजकतामा जाने तर्क गर्दै उनले भने–“पहिले झलनाथ खनाल, माधवकुमार नेपाल प्रधानमन्त्री रहेको अवस्थामा जस्तो अहिले संसद नभएकाले अहिले राजिनामा दिँदा देश रिक्तता र अराजकतामा जान्छ ।” अधिकांश पार्टीहरुले निर्वाचनमा जाने निर्णय पनि गरेकाले सरकार बैशाख सम्ममा निर्वाचन गराउने पक्षमा रहेको र त्यो निर्वाचनका लागि यहि मंसिर भित्रमा बाबुराम भट्टराईकै नेतृत्वमा सर्वपक्षिय सरकार बन्ने दावी समेत उनले गरे । यदि मंसिर भित्रमा सर्वपक्षिय सरकार बन्न सकेन भने बैशाखमा चुनाव गराउनका लागि समय पनि नहुने भएकाले सो समयमा निर्वाचन गराउनका लागि मंसिर भित्रै सर्वपक्षिय सरकार निर्माण गरि चुनावको तयारी गर्नुपर्ने उनले बताए ।
राष्ट्रपती र बिपक्षी दलहरुको सहमतीमा छिट्टै बजेट आउने बताउदै मन्त्रि रायमाझीले राज्य सञ्चालन गर्ने बजेट जस्तो संबेदनशिल बिषयलाई प्रधानमन्त्रिको कुर्चिसग साट्ने एजेण्डा नबनाउन बिपक्षी दलहरुलाई आग्रह समेत गरे ।