कोरियामा एक नेपालीको शव बाथरुममा झुण्डिएको अवस्थामा फेला
दक्षिण कोरिया, असोज ४ - इपिएस मार्फत दक्षिण कोरिया आएका तनहुँका राजकुमार गुरुङ मृत फेला परेका छन्। दक्षिण कोरिया स्थित थेगुक्षेत्रको गाडिको पार्टपुर्जा बनाउने युसन हाईटेक कम्पनीमा कार्यरत गुरुङ गएराति साढे ११ बजे मृत अवस्थामा फेला परेका हुन्।
तनहुँ जिल्लाको भानु गाविस-५ घर भएका गुरुङको कम्पनीबाट केही दुरीमा रहेको पोहान्ग ,योङछन एरियामा रहेको कम्पनी क्वाटरको बाथरुममा झुण्डिएको अवस्थामा शव फेला परेको बताइएको छ |
गुरुङ गत अप्रिल २३ तारिख दक्षिण कोरिया आएका हुन्। कोरिया आएको ५ महिना नपुग्दै भएको रहस्यमय मृत्युको कारण भने खुल्न सकेको छैन।
बुधबार बेलुका सकुशल अवस्थामा भोली भेटौला भनेर छुट्टिएको साथीले अकस्मात आत्महत्या गरेको खबर सुनेकोले आत्महत्या गर्नुको कारण थाहा हुन नसकेको संगै कार्यरत इटहरीका पुष्प गुरुङले जानकारी दिए ।
उनले भने, 'कम्पनीमा त्यस्तो केही भएको जस्तो लाग्दैन । गएको शनिबार आफ्नो छोरी भएको बताएको थियो । घरायसी केही कारण पो थियो कि?'
मृतक गुरुङको शव पोहाङ क्षेत्रको हस्पिटलमा राखिएको छ। कम्पनीमा रहेका नेपालीहरुले मृतकको आफन्तलाई जानकारी पठाएको बताएका छन् । यता दुतावासले भने प्रहरी रिपोर्टको प्रकृया भईरहेको हुँदा चाडै मृतकको परिवारलाई आवश्यक जानकारी पठाउने बताएको छ। यता दुतावासले घटनाको विस्तृत विवरण तथा प्रहरी रिपार्टपाएपछि नेपालमा जानकारी पठाउने बताएको छ ।समाचार नागरिक न्यूज बाट