माइतीमा तीज मनाएर घर र्फकंदै गरेकी चेली बाटोमै लुटिइन
म्याग्दी असोज ५ - माइतीमा तीज मनाएर घर र्फकंदै गरेकी म्याग्दीकी एक चेली बाटोमै लुटिएकी छिन् । पुलाचौर- ९ पुलाडाँडाकी सरस्वती बानियाँ आज घतानको ठूलोसल्लेरी र बञ्चरेडिल सामुदायिक वनको सिमानामा लुटेएकी हुन् ।
मल्लाजबाट घर जाने क्रममा एक अपरिचित व्यक्तिले आँखामा खुर्सानीको धुलो हालेर कानमा लगाएको एक तोला बराबरको सुनको गहना लुटेको पीडित बानियाँले बताउनुभयो । लुटेराले कानबाट जबरजस्ती गहना निकाल्दा बानियाँको काननै च्यातिएको स्थानीय सम्मरबहादुर थापाले जानकारी दिनुभयो । स्थानीयवासीले लुटपाट भएको देखेपछि भाग्ने क्रममा लुटेराले मोबाइल भने छोडेको थियो ।
पाँच वर्षको छोराको साथमा घर जाँदै गरेकी बानियाँलाई लुटपाट गर्ने युवा भने फरार रहेको स्थानीय युवा चक्र चोखालले बताउनुभयो । घाइते बानियाँको स्थानीयवासीले उद्धार गरेका थिए । बानियाँको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । रासस(समाचार ऑनलाइन खबर बाट)