|

अबुधावीमा सेलरोटी र अचारको स्वादसंगै १५ असारे सांस्कृतिक रमझम


लालबहादुर ढेंगा, दुबई, युएई

अबुधावी । नेपाली प्रमुख चाड पर्वमध्ये १५ असारलाई पनि धुमधांमसंग मनाउने प्रचलन रहेको छ नेपालमा । हिजो ६ जुलाई शुक्रबारका दिन अबुधावीको न्यू सिटी प्यालेस रेष्टुरेण्टमा युएईमा रहेका प्रवासी नेपालीहरुले आफ्नो रितीरिवाज र परम्परागत ढंगले सेलरोटी र अचारको स्वादसंगै विविध सांस्कृतिक माहौलमा १५ असार मनाएका छन् । सो कार्यक्रम बागलुङ सेवा समाज युएईको अबुधावी क्षेत्रीय समितिद्धारा आयोजनामा गरेको हो ।

नेपाली राजदूतावासका महामहिम राजदूत धनञ्जय झा प्रमुख अतिथि र नेपाली जनसम्पर्क समिति युएईका अध्यक्ष तथा बागलुङ सेवा समाज युएईका केन्द्रीय सल्लाहकार चित्रबहादुर केसी बिशेष अतिथिमा रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता बागलुङ सेवा समाज युएई अबुधावी क्षेत्रीय समितिका अध्यक्ष भिम केसीले गर्नुभएको थियो । त्यस्तैगरी अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाहरुका प्रतिनिधि, समाजसेवी, व्यावसायी र पत्रकारहरु रहेको कार्यक्रमलाई गायक प्रकाश सपूत र केन्द्रीय सचिव केदारसिंह नेपालीले संयुक्त रुपमा संचालन गरेको थियो ।

उक्त कार्यक्रम राजदूत झा र क्षेत्रीय अध्यक्ष भिम केसीको संयुक्त रुपमा दीप प्रलोजन गर्दै थालनी गरिएको थियो भने संस्थाको तर्फबाट शुभकामना मन्तव्य अबुधावी क्षेत्रीय समितिका सचिव तिलक किसानले राख्नु भएको थियो । सांगीतिक कार्यक्रमलाई सूर्य केसी र चिरन केसीको स्वागत गीतबाट आरम्भ गर्दै १५ असारे रोपाईको हिलोमा लोटपोट हुंदै आफ्नो कविता बाचन गर्नेहरुमा चन्द्रबिक्रम सारु मगर, दीपक कुंवर र प्रकाश सपूत रहेका थिए । कार्यक्रममा विनोद खड्का, सूर्य केसी, किशोर सुनार, रंजीत गजमेर, प्रकाश सपूत, निश्चल श्री र कोपिल तामाङले गाएको गीतबाट निकै मनोरञ्जन दिएको थियो ।

मन्तव्यको क्रममा राजदूत झाले १५ असार र हिलोमा धान रोपाईको बारेमा आफु पनि किसान भएको र सबै व्होरेको बताउनु भयो । साथै २४ घण्टामा कम से कम पनि २ लिटर पानी पिउनु पर्ने डा.ले बताएको जानकारी दिनु भयो । युएईको सन्दर्भमा नेपालीहरुको आत्महत्या, सडक दुर्घटना, मानसिक तनाव र सतेपछि सुतेको सुते अवस्थामा भेटिएको धेरै घटनाहरु भेटिएको बताउनु भयो । दुबईमा मृत्युदण्ड पाएका अमरबहादुर बमको बारेमा नेपाल सरकारसंग समन्वय गर्दै आवश्यक प्रक्रिया अगाडि बढेको जानकारी दिनु भयो । युुएईमा रहेका प्रवासी नेपालीहरुको सुविधालाई ध्यानमा राखेर महिनाको पहिलो हप्ताको शुक्रबारका दिन बिहानको ९ बजेदेखि दिउंसोको १ बजेसम्म कन्सुलर सेवाको लागि दूतावास खुला रहने खुलासा समेत गर्नु भएको छ ।

बागलुङ सेवा समाज युएईको स्थापनाकालदेखि समाजलाई मलजल गर्दै आफ्नो महत्वपूर्ण योगदान दिने अग्रज कार्यकर्ताहरु मानबहादुर थापा, चित्रबहादुर केसी, गोपाल कंडेल र पिताम्बर पाण्डेलाई सम्मान–पत्र र खादा ओढाएर सम्मानित गरिएको थियो । त्यस्तैगरी विभिन्न क्षेत्रबाट समाजलाई सहयोग पुर्‍याउने व्यक्तिहरु चुमान कांउछा, प्रकाश सपूत, चिरन केसी र गुप्तशेखर पौडेललाई सम्मान–पत्र र खादा ओढाएर सम्मानित गरिएको थियो ।
 
सो अवसरमा आफ्नो मन्तव्य राख्नेहरुमा राजु केसी, राजु खड्का, विमल तामाङ, रीना बिष्ट, चित्रबहादुर केसी, मानबहादुर थापा, चन्द्रबिक्रम सारु मगर, गोपाल कंडेल र भिम केसी रहेका थिए । कार्यक्रमलाई सफल पार्नमा सहयोग गर्ने बागलुङ सेवा समाजका सबै पदाधिकारीहरु र अन्य सहयोगी मित्रहरु लगायत सम्पूर्ण उपस्थितलाई अध्यक्ष गोपाल कंडेलले धन्यबाद दिनु भयो । अन्त्यमा कार्यक्रमका अध्यक्ष भिम केसीले सबैलाई धन्यबाद दिर्दै कार्यक्रम विसर्जन गर्नु भएको थियो ।

   


Posted by Butwalonline on 11:28 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अबुधावीमा सेलरोटी र अचारको स्वादसंगै १५ असारे सांस्कृतिक रमझम"

Leave a reply