एक वर्षदेखि अलपत्र ९५ कामदार स्वदेश फर्कदै
दोहा (कतार), श्रावण १६ - साउदी अरबमा एक वर्षदेखि अलपत्र ९५ कामदार स्वदेश आउन पाउने भएका छन् । कम्पनीले ५ वर्ष बित्दा पनि घर आउन नदिएका कामदार त्यस समूहमा छन् ।
साउदीको राजधानी रियादस्थित अलहायरमा अल सोइया कम्पनीमा कार्यरत ९५ कामदारले पछिल्लो समय ६ महिना बित्दा पनि तलब नपाएपछि गएको सेटेम्बरबाट काम छाडेर बसेका थिए । उनीहरू सबै निर्माण मजदुर हुन् ।
अलपत्र कामदारलाई स्वदेश फिर्ता गर्न कम्पनी सहमत भएको रियादस्थित नेपाली दूतावासले जनाएको छ । 'हरेक साता ३५ जनाको दरले पठाउने सहमति भएको छ,' साउदीका लागि नेपाली राजदूत उदयराज पाण्डेले भने, 'कम्पनीले यो काम यो साताबाट सुरु गर्ने छ ।' कम्पनीले निकै छल गर्ने भएकाले अझै आफूहरूलाई आशा नलागेको कामदारहरूले बताएका छन् । यस कम्पनीमा नेपाली सहित चार देशका झन्डै एक हजारभन्दा बढी कामदार कार्यरत छन् । अलपत्र ती कामदारको अक्कामा -परिचयपत्र) नभएकाले उनीहरू साउदी छाड्न नपाएका हुन् । नेपाली कामदारलाई अलपत्र पारेर स्वदेश समेत नपठाएपछि दूतावासको अनुरोधमा कम्पनी मालिकलाई प्रहरीले पक्राउ गरी कारबाही समेत गरेको थियो ।
स्थानीय बैंकले कम्पनीको लिलामी गरेको र कम्पनी साउदी सरकारको कालोसूची (रेड जोन) मा परेपछि कामदार झन् समस्यामा परेका थिए । पीडितले आफूले पाउने तलब सहित स्वदेश फिर्तीका लागि माग गर्दै साउदीको मानव अधिकार आयोग, श्रम अदालत र सर्वोच्च अदालतमा मुद्दा दायरा गरेको थियो ।
राजदूत पाण्डेका अनुसार परिचयपत्र नबनेका कामदारलाई प्रक्रिया पुर्याएर पठाउने काम भएको छ । 'कामदारको हिसाब किताब भइसकेको छ,' उनले भने । पीडितहरूका अनुसार अझै १० जनाले तलब पाएको छैन ।
५ महिनाअघि काम गर्न दबाब दिन कम्पनीले प्रहरी लिएर कामदारमाथि कुटपिट गरेको थियो । त्यतिखेर प्रहरीले कामदारमाथि ६ राउन्ड हवाईफयार गरेपछि यसप्रति असुन्तष्टि व्यक्त गर्दै दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्र लेख्नुको साथै स्थानीय गभर्नरको ध्यानाकर्षण गराएको थियो ।
समाचार कांतिपुर बाट
