दुबईमा एनआरएन महिला समितिको दोस्रो बैठक सम्पन्न
लालबहादुर ढेंगा,युएई दुबई - युएईस्थित वैदेशिक रोजगारीमा रहेका महिलाहरुलाई समेट्दै आफ्नो हक र हितका लागि अगाडि ल्याउने हेतुले भर्खरै मात्र स्थापना गरिएको एनआरएन अन्तर्गत महिला समितिले विभिन्न समसायिक विषयमा छलफल गर्दै आफ्नो दोस्रो बैठक सम्पन्न गरेको छ । सो बैठक एनआरएन अन्तर्गत महिला समितिकी अध्यक्ष अर्चना बस्नेत रोकाहाको अध्यक्षतामा गत १ जुन शुक्रबारका दिन बर दुबईको मेट्रो पार्कमा बसेको हो ।
उक्त बैठकमा विभिन्न संघ संस्थाहरुसंग सहकार्य गर्दै यस बर्ष २०६९ को महिलाहरुको महान पर्व हरितालिका तीज कसरी मनाउने भन्ने विषयमा विशेष छलफल गरिएको थियो । युएईस्थित कार्यरत लगभग २० हजार नेपाली महिलाहरुलाई बृहत् भेला गराई प्रवासमा पनि आफ्नो रितीरिवाज र परम्परालाई कायम राख्दै धुमधांमसंग तीज मनाउने योजना रहेको समितिकी सचिव वविता शिवाले जानकारी दिनु भयो । महिला समितिको स्थापना हुनु लगत्तै समितिको कोषमा अनिवार्य रुपमा मासिक २० दिरामको दरले कोष जम्मा गरिएको छ । यो कोष नेपालस्थित आपतविपतमा परेका महिलाहरुको सहयोगको लागि खर्च गरिने भएको छ । आगामी दिनहरुमा युएईस्थित कार्यरत नेपाली महिलाहरुलाई कानुन र व्यावस्था सम्बन्धित जानकारी गराउंदै अनावश्यक समस्याहरुबाट बचाउन पहल गरिने भएको छ । यस कार्यको लागि महिला समिति सशंक्त रुपले लागि पर्ने बताएका छन् ।
