|

साउदीमा नेपालीको मृत्यु

महेश्वरचामलिङ राई, उदयपुर, साउन २- वैदेशिक रोजगारीमा साउदी अरवमा कार्यरत् एक अर्का नेपालीको मृत्यु भएको छ। खोटाङको राजापानी गाविस-६ खाम्ते घर भई हाल त्रियुगा नगरपालिका-३ पुरानो गाईघाटका ३० वर्षीय भोजराज कार्कीको गत बिहीबार मृत्यु भएको आफन्तले जनाएका छन्। कार्की साउदीको ओरिह्यात सहरस्थित टोयोटा सप्लायर्स कम्पनीमा अढाई वर्षदेखि कार्यरत् थिए। काम सकेर डेरातर्फ फर्कंदै गर्दा बाटो काट्ने क्रममा गाडीको ठक्करले उनको मृत्यु भएको खवर परिवारलाई दिइएको आफन्त महेश रोकाले बताए।

 बिहीबार नै मृत्यु भएको भए पनि खवर भने शनिबार रातिमात्र आएको रोकाले बताए।४ वर्षीय एक छोराका बाबु उनको मृत्यु कम्पनीले भनेजस्तै सडक दुर्घटनामा भएको हो वा अन्य कारणले भन्नेबारे प्रष्ट नभइसकेको बताइएको छ। श्रीमानको मृत्युको खबर पाएलगत्तै बेहोस् भएकी उनकी श्रीमती सीता (२८) को होस् २४ घण्टापछि खुलेको छ। 'अन्टीको होस् भर्खरै खुलेको छ, के कसरी घटना भयो भन्नेबारे सबै बुझ्न बाँकी छ'- रोकाले भने। उनका अनुसार सीताको होस् अझै प्रष्ट बोल्न सक्नेगरी खुलेको छैन।

उनको लास नेपाल ल्याउने प्रक्रियाका लागि नेपालस्थित म्यानपावर कम्पनीसँग कुरा भइरहेको छ। कम्पनीका अनुसार त्यहाँको घटना विवरणसहित प्रहरीबाट आएको रिपोर्टपछि दूतावासलाई पत्राचार गरेपछि मात्र काम अघि बढ्ने व्यवस्था रहेको जनाएको छ। नयाँ बानेश्वरस्थित सिविल ओभरसिज प्रा.लि.मार्फत कार्की साउदी पुगेका हुन्। तर, सो ओभरसिजले हाल नाम बदलेर डेल्टा ओभरसिज प्रा.लि. बनाएकाले लास ल्याउने प्रक्रिया थाल्न झन्झटिलो भइरहेको रोकाले बताए।

१० धुर जग्गामा सामान्य झुप्रो बनाएर बसोबास गर्दै आएको परिवार कार्कीको मृत्युपछि बिचल्लीमा परेको छ। कानुननुसार जीवन बीमावापतको रकम र उचित क्षतिपूर्ति समयमै पाउन सके श्रीमती र नर्सरी पढ्दै गरका छोरालाई सहज हुने छिमेकी श्यामकुमारी राईले बताइन्।

Source:NagarikNews

Posted by Butwalonline on 11:36 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "साउदीमा नेपालीको मृत्यु"

Leave a reply