|

वैद्य पक्ष अध्यक्ष दाहालको तस्बिर हटाउँदै


काठमाडौ, वैशाख १७ - माओवादी उपाध्यक्ष मोहन वैद्य पक्षले राज्य समिति तथा जनवर्गीय संगठनलगायत कार्यालयमा राखिएका अध्यक्ष पुष्पकमल दाहालको तस्बिर हटाएको छ ।
अध्यक्ष दाहालले कम्युनिस्ट क्रान्तिलाई विश्वासघात गरेको आरोप लगाउँदै वैद्य पक्षीय प्रतिनिधिको बाहुल्यता रहेका अधिकांश जनवर्गीय, जातीय मोर्चा, जनसांस्कृतिकलगायत कार्यालयमा राखिएका तस्बिर हटाइएका हुन् ।
 केन्द्रीय सदस्य तथा मधेसी राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष कृष्णदेवसिंह दनुवारले वैद्य पक्षीय केन्द्रीय समिति बैठकले दाहालको तस्बिर हटाउने आधिकारिक निर्णय नै गरेको बताए । 'कम्युनिस्ट आन्दोलनलाई उचाइमा पुर्‍याउनुको सट्टा दक्षिणपन्थी धारमा भासिनु भयो, त्यसकारण तस्बिर हटाएका हौं,' उनले भने । महासचिव रामबहादुर थापाले दाहाललाई 'लाल गद्दार' घोषणा गरिसकेको प्रसंग उल्लेख गर्दै उनले भने, 'अन्य ठाउँमा राखिएका तस्बिर पनि हटाउँछौं, विश्व क्रान्ति गर्ने कम्युनिस्ट नेतासँग दाहालको फोटो सजाएर राख्नु क्रान्तिको अपमान हो ।'
विशेषगरी चैत २८ मा लडाकु र तिनका हतियार नेपाली सेनालाई जिम्मा लगाई 'आत्मसमर्पण गराएकाले' तस्बिर हटाएको उनको तर्क थियो । बुद्धनगरस्थित माओवादीको पुरानो पार्टी कार्यालयमा रहेका महिला, सुकुम्बासी, मजदुर, शिक्षक, दलित, किसानलगायत जनवर्गीय संगठनको अधिकांश कार्यालयबाट दाहालका तस्बिर हटाइएका छन् । यस्तै, कुपण्डोलस्थित नेवाः राज्य समिति, मगर राष्ट्रिय मुक्ति मोर्चा, तमु राष्ट्रिय मुक्ति मोर्चा, किराँत मुक्तिमोर्चा, आदिवासी जनजातिको कार्यालय, भृकृटीमण्डपस्थित राष्ट्रिय कर्मचारी महासंघ र पुतलीसडकस्थित जनसांस्कृतिक महासंघको कार्यालयबाट पनि हटाइएको छ ।
'क्रान्तिको नायक भन्ने कि खलनायक त्यसमा छलफल भइरहेको छ, तस्बिर हटाइसक्यौं, अब उनका भनाइ पनि हटाउने प्रक्रियामा छौं,' जनसांस्कृतिक महासंघका महासचिव माइला लामाले भने ।
अखिल नेपाल क्रान्तिकारी विद्यार्थी संगठनको काठमाडौं जिल्ला कार्यालयबाट पनि अध्यक्ष दाहालका तस्बिर र उनका भनाइलाई हटाएको छ । अखिल नेपाल शिक्षक संगठनका महासचिव लालबहादुर बीसीले भने आफूहरूलाई पार्टीको निर्देशन नआएकाले नहटाएको बताए । 'पार्टी फुटेको अवस्था होइन, अहिलेसम्म उहाँ नै अध्यक्ष हो, हामीले फोटो हटाएका छैनौं,' उनले भने |
समाचार कांतिपुर दैनिक बाट

Posted by Butwalonline on 6:47 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "वैद्य पक्ष अध्यक्ष दाहालको तस्बिर हटाउँदै"

Leave a reply