मलेसियामा दुर्घटनामा परी ज्यान गुमाएका नेपाली युवाको परिवारलाई ३४ लाख
क्वालालम्पुर, चैत्र २५ - करिब डेढ वर्षअघि मलेसियाको एक कम्पनीमा काम गर्दागर्दै दुर्घटनामा परी ज्यान गुमाएका एक नेपाली युवाको परिवारले करिब ३४ लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ ।
जोहोरबारुस्थित टुनास प्लानेट कम्पनीअन्तर्गत बन्दरगाहमा काम गरिरहेकै बेला पानीजहाजमा रहेको कन्टेनर दुर्घटनामा परी खुरखुरे-९ तनहुँका शुकबहादुर गुरुङको २०१० अक्टोबर १० मा मृत्यु भएको थियो ।
क्षतिपूर्तिबापत १ लाख १० हजार रिंगिट (२९ लाख रुपैयाँ) एवं टुनासले दिएको करिब पाँच लाख रुपैयाँ गरी ३४ लाख साताअघि नेपालस्थित परिवारलाई पठाइएको सोही कम्पनीमा कार्यरत चन्द्र अभागीले जानकारी दिए । 'मृतक शुकबहादुरकै श्रीमती लक्ष्मीले पोखरास्थित माछापुच्छ्र्रे बैंकबाट लिइसक्नुभएको खबर पायौं । पैसा त्यहीं पठाइएको थियो,' उनले भने ।
त्यहाँ कार्यरत सबै नेपालीले गुरुङको ज्यान गएकै दिन क्षतिपूर्ति दिलाउनुपर्ने भन्दै काम ठप्प पारेको थिए उनले बताए । उनका अनुसार त्यसपछि कम्पनीले क्षतिपूर्ति मिलाइदिने आश्वासन दिएको थियो ।
यसैबीच त्यहाँ कार्यरत नेपालीहरूले पनि मृतक गुरुङको परिवारका लागि एक लाख ७ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् । मृतक गुरुङकी छोरी सोनी गुरुङकले प्राप्त गर्ने गरी उक्त रकम प्रदान गरिएको उनले बताए । पानीजहाजमार्फत सामान आयात/निर्यातसम्बन्धी सेवा दिने मलेसियाको ठूलो उक्त कम्पनीमा १ हजार ५ सयभन्दा बढी नेपाली कार्यरत छन् ।
स्रोत :कान्तिपुर दैनिक
