|

जनकपुरमा बम विष्फोट,चार जनाको मृत्यु

जनकपुर, वैशाख १८ - मिथिला राज्यको माग गर्दै जनकपुरधामको रामानन्द चोकमा जारी शान्तिपूर्ण धर्नामा सोमबार बिहान भएको विष्फोटमा चार जनाको मृत्यु भएको छ ।
विष्फोटमा जनकपुर नगरपालिका- ८ का विमल शरण, कलाकार रञ्जु झा, सुरेश उपाध्याय र झगरु मण्डलको मृत्यु भएको हो । विमलको घटनास्थलमै अन्यको उपचारकोक्रममा मृत्यु भएको हो । बिहान १० बजे भएको विष्फोटमा दर्जन बढी घाइते भएका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।मृतक झा मिथिला क्षेत्रका स्थापित कलाकार थिए । उनी मिथिला नाट्य कला परिषद्संग आवद्ध रही विभिन्न सडक, स्टेज तथा थियटर 'शो' हरुमा सहभागी हुने गर्थिन् ।
मिथिला राज्य संघर्ष समितिको आहृवानमा धर्ना भइरहेकाबेला एक व्यक्तिले रोकेको ज २ प ९३९५ नम्वरको मोटरसाइकल विष्फोट भएको हो । घटनामा संलग्न रहेको आशंकामा स्थानीयवासीहरुले एक युवकलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएको छ । विष्फोटमा परी संघर्ष समितीका संयोजक परमेश्वर कापडी, नेपाली कांग्रेस जनकपुर नगर समितिका सभापति धीरेन्द्र मोहन झा,जनकपुर उद्योग वाणिज्य संघका सदस्य शिवशंकर साह हीरा, रामानन्द युवा कमिटीका पूर्व अध्यक्ष रमेश ठाकुर,महासचिव मनमोहन साह,स्टेशन एरिया युवा क्लवका अध्यक्ष देवू यादव,दीपेन्द्र दाससहित एक दर्जन अधिक घाइते भएका छन् । गम्भीर घाइते ६ बढीलाई थप उपचारको लागी काठमाण्डौं लगिएको छ । अन्यको जनकपुर अञ्चल अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।
घाइतेहरुलाई उपचारको क्रममा जनकपुर अंचल अस्पताल ल्याइएको बेला चिकित्सकहरु नरहेको भन्दै  आक्रोशित स्थानीयवासीहरुले हो हल्ला गरे पछि अस्पताल परिसर तनावग्रस्त बनेको थियो । यस क्रममा स्थानीयवासी र प्रहरी बीच सामान्य झडप समेत भएको थियो ।
राज्य पुर्नसंरचना अन्तर्गत मिथिला राज्य नामाकरण हुनु पर्ने मांग राखी संघर्ष समिती गत चार दिनदेखि चरणवद्ध आन्दोलन गर्दै आएको थियो । सोमवार विहान ८वजेदेखि ११वजेसम्म रामनन्द चौकमा शान्तिपूर्ण धर्ना र चक्का जाम गर्ने कार्यक्रम थियो । आन्दोलनकारीहरु बीच सडकमै बसेर धर्ना दिई रहेका बेला सवा १० वजे विष्फोट भएको थियो । पिष्फोटक पदार्थ धरना स्थलभन्दा पश्चिम राखिएको ज २ प ९३९५नम्बरको हिरो होण्डा कम्पनीको रातो रंगको पैसन प्रो मोटरसाईकलमा राखीएको अनुमान गरिएको छ । वेवारिसे अवस्थामा भेटिएको उक्त मोटर साईकल पूर्णतः क्षतिग्रस्त भएको छ । 
विष्फोटमा मृत्यु हुने सवै रामानन्द चोकका हुन् । एकै गाउँका चारजनाको मृत्यु भएपछि रामानन्द चौकमा रुवावासी चलिरहेको छ ।
जनतान्त्रिकद्वारा जिम्मा
यसैबीच घटनाको जिम्मा राजन मुक्ति नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाले लिएको छ । राजन मुक्तिले संचारकर्मीहरुलाई एसएमएस पठाई घटनाको जिम्मेवारी लिएको हो ।  उसले माओवादी, कांग्रेस र एमाले नेतालाई लक्षित गरी विष्फोट गरेको जनाएको छ । सर्वसाधारण मारिएकोमा मोर्चाले माफी मागेको छ ।

समाचार कांतिपुर दैनिक बाट 

Posted by Butwalonline on 8:00 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जनकपुरमा बम विष्फोट,चार जनाको मृत्यु"

Leave a reply