तेस्रो विश्व बौद्ध सम्मेलन हङकङमा सुरु
हङकङ, वैशाख १५ -चीनले आयोजना गरेको तेस्रो विश्व बौद्ध सम्मेलन बुद्ध मन्त्रोच्चारणसाथ हङकङमा बिहीबार सुरु भएको छ। ५० भन्दा बढी देशका करिब हजार भिक्षु र बौद्ध अध्येता सहभागी सम्मेलनको उद्घाटन समारोहमा बोल्दै संस्कृतिमन्त्री गोपाल किरातीले लुम्बिनी भ्रमण गरी विकासमा सहयोग गर्न आग्रह गरे। बेलायतले हङकङ चीनलाई हस्तान्तरण गरेको १५ औँ वर्षगाँठको अवसर पारेर पहिलो पटक हङकङमा बौद्ध सम्मेलन आयोजना गरिएको हो।
सम्मेलनमा सामाजिक सद्भाव र शान्तिपूर्ण विश्व निर्माणका लागि बौद्ध धर्मको भूमिकाबारे दुई दिन छलफल हुने बताइएको छ। चीनको नानजिङबाट विशेष विमानद्वारा हङकङ ल्याएर प्रदर्शनमा राखिएको बुद्धको खप्परको अवशेष सम्मेलनको मुख्य आकर्षण बनेको छ।
सम्मेलनमा सामाजिक सद्भाव र शान्तिपूर्ण विश्व निर्माणका लागि बौद्ध धर्मको भूमिकाबारे दुई दिन छलफल हुने बताइएको छ। चीनको नानजिङबाट विशेष विमानद्वारा हङकङ ल्याएर प्रदर्शनमा राखिएको बुद्धको खप्परको अवशेष सम्मेलनको मुख्य आकर्षण बनेको छ।
चीनको परराष्ट्र मन्त्रालयको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन हङकङ आएका मन्त्री किरातीले उद्घाटन समारोहमा बोल्ने क्रममा लुम्बिनीलाई विश्वको पवित्र तीर्थस्थलको रूपमा विकास गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायमा आग्रह गर्ने उद्देश्यले भ्रमण वर्ष कार्यक्रम आयोजना गरिएको बताए।
हामी विस्तारै आफ्नो उद्देश्य नजिक पुगेका छौं,' लुम्बिनी भ्रमण वर्ष २०१२ मा १० लाख तीर्थालु र शान्तिप्रेमी मानिस आउने अपेक्षा गरिएको उल्लेख गर्दै किरातीले भने, 'म यस सम्मेलनमा सहभागी सबैलाई यसै वर्ष लुम्बिनी भ्रमण गर्न र बुद्धको जन्मस्थललाई विश्वकै पवित्र स्थलका रूपमा विकास गर्ने हाम्रो वृहत् योजनामा सहयोग गर्न आमन्त्रण गर्दछु।'
माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्ने निर्णयसँगै शान्ति प्रक्रिया निर्णायक चरणमा प्रवेश गरेको उल्लेख गर्दै किरातीले लुम्बिनी विकासका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय सहयोग जुटाउन सरकारले वृहत् लुम्बिनी विकास निर्देशक समिति गठन गरेको जनाए।
मन्त्री किरातीसँगै रहेका उनका सल्लाहकार टिकाराम राईका अनुसार संविधान निर्माणको कारण हङकङ आउने अवस्था नभए पनि लुम्बिनी भ्रमण वर्षको प्रचार गर्ने ठूलो अन्तर्राष्ट्रिय मञ्च उपयोग गर्ने उद्देश्यले अन्तिममा भ्रमण तय गरिएको थियो। बुधबार आएका किराती र राई बिहीबार बिहान सम्मेलनको उद्घाटन समारोहमा सहभागी भई साँझ काठमाडौं फर्केका छन्।
चीनबाट ल्याइएको २५०० वर्ष पुरानो मानिने बुद्धको अवशेषअघि तीनपटक झुकेर हङकङ कोलिजियममा बौद्ध सम्मेलन सुरु भएको थियो। पहिलोपटक मुख्यभूमि चीन बाहिर आएका निर्वासित दलाई लामापछिका दोस्रो उच्च तिब्बती आध्यात्मिक नेता पञ्चेन लामाले उद्घाटन समारोहमा बौद्ध दर्शन सम्बन्धी मन्तव्य दिए र विश्व शान्तिको कामना गरे। चीनले २००६ मा पूर्वी चीनको झेजियाङमा र २००९ मा जियाङसुमा आयोजना गरेको पहिलो र दोस्रो विश्व बौद्ध सम्मेलनमा पनि उनी सहभागी थिए। दलाई लामाका अनुयायीहरूले चीनले छनोट गरेका २२ वर्षीय पञ्चेन लामालाई मान्यता दिएका छैनन्।
बुद्धिस्ट एसोसिएसन अफ चाइना र चाइना रिलिजियस कल्चर कम्युनिकेसन एसोसिएसनले हङकङ बुद्धिष्ट एसोसिएसनसँग मिलेर आयोजना गरेको सम्मेलनमा राष्ट्रसंघका महासचिव वान कि मुन र चिनिया कम्युनिष्ट पार्टी स्थायी समिति सदस्य तथा चाइनिज पिपल्स पोलिटिकल कन्सल्टेटिभ कमिटी (सिपिपिसिसी) का अध्यक्ष जिया चिङलिनले बधाई सन्देश पठाएका थिए।
हङकङका कार्यकारी प्रमुख डोनाल्ड चाङ, चाइनिज बुद्धिष्ट एसोसिएसनका अध्यक्ष चुवान इन, हङकङ बुद्धिस्ट एसोसिएसनका अध्यक्ष कोक वाङलगायतले सम्बोधन गरेको कार्यक्रममा चीनकी प्रसिद्ध पपगायिका वाङ फीले 'दिल सूत्र' गाएकी थिइन्।
चीनबाट ड्रागन एयरको विशेष विमानद्वारा ल्याइएको बुद्धको खप्परको अवशेष मंगलबारदेखि छ दिनका लागि हङकङ कोलिजियममा प्रदर्शनमा राखिएको छ। सुनको प्यागोडामा सजाइएको अवशेषको सुरक्षाका लागि २० जना कुङ फु भिक्षुलाई खटाइएको हङकङ बुद्धिस्ट एसोसिएसनले जनाएको छ। चीनबाट १९९९ मा बुद्धको हातको औंला र २००४ मा दाँतको अवशेष ल्याएर प्रदर्शनमा राखिएको स्मरण गरेका हजारौं बौद्धमार्गीले खप्परको अवशेष ल्याउँदा खुसी मनाएका थिए।
समाचार नागरिक न्यूज बाट(पूर्ण बस्नेत)





