|

मलेसियामा भिसाविहीन ५८ नेपाली कामदारले काम पाए


क्वालालम्पुर, वैशाख १५ - कम्पनीको लापरबाहीका कारण मलेसियामा भिसाविहीन अवस्थामा अलपत्र पारिएका ५८ नेपाली कामदारले अर्को काम पाएका छन् । दुई महिना अघिदेखि अलपत्र उनीहरूलाई डेढ महिना लामो प्रयासपछि एनएस मेबिक नामक अर्को कम्पनीले कामको प्रबन्ध मिलाएको छ । यहाँस्थित दूतावासका श्रम सहचारी अमलकिरण ढकालले जनाएअनुसार यहाँको गृह मन्त्रालय र श्रम विभागसँगको लामो छलफलपछि पीडितहरूले न्याय पाएका हुन् ।
'एनएस मेबिकले अलपत्र सबैलाई काम दिलाउन आफू इच्छुक भएको भन्दै गृह मन्त्रालयसमक्ष अनुमति मागेको थियो । यसबारे हामीले यहाँको श्रम विभागमा पनि छलफल गर्‍यौं । त्यसपछि गृहले एनएस मेबिकलाई अनुमति दिएलगत्तै उनीहरू काममा फर्किएका छन्् । भिसाविहीन भएकाहरूको पनि भिसा मिल्ने भयो,' श्रम सहचारी ढकालले बिहीबार भने, 'बल्ल उनीहरूले न्याय पाए ।'
नेपालीसहित अलपत्र सबै भियतनामीसमेत काममा फर्किएका छन्् । पहिले उनीहरू कार्यरत 'आस्माना' कम्पनीलेे 'फेवेर' नामक कम्पनीसँगको १ वर्षे सम्झौतामा ती ५८ नेपाली युवाहरूलाई पेनाङस्थित विभिन्न सरकारी अस्पातालहरूमा क्लिनरको काममा लगाएको थियो । फेवेरसितको करार-सम्झौता सकिएलगत्तै त्यहाँ कार्यरत सबै नेपालीसहित भियतनामीहरू अलपत्र परेका थिए । 
न्याय पाएपछि जुरुस्थित सुरक्षित गृहबाट काममा फर्किएका पीडितमध्येका एक कृष्णकुमार श्रेष्ठले बिहीबार भने, 'म सहित २४ जना एकै ठाउँमा छौं, अरू साथीहरू विभिन्न तीन ठाउँमा छन्् । पुरानै सम्झौतापत्र तलब-सुविधाअनुसार, हामी सबैले काम थालिसकेका छौं ।' पुरानो सम्झौतापत्रमा दैनिक १२ घन्टा काम गर्नुपर्ने र मासिक न्यूनतम तलब ९ सय ७१ रिंगेट दिने उल्लेख छ ।
समाचार कांतिपुर दैनिक बाट

Posted by Butwalonline on 1:32 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मलेसियामा भिसाविहीन ५८ नेपाली कामदारले काम पाए"

Leave a reply