भाइटीका आज
काठमाडौँ-हिन्दूहरूको महान् चाड तिहारको अन्तिम दिन आज देशभर परम्पराअनुसार दिदीबहिनीले आफ्ना दाजुभाइको सुख, समृद्धि एवम् दीर्घायुको कामना गर्दै भाइटीका लगाउँदैछन्।
भाइटीकाका लागि शुभसाइत बिहान ११ बजेर ५५ मिनेट रहेको नेपाल पञ्चाङ्ग समितिले जनाएको छ। तर मध्याह्न एवम् अपराह्नको समय पनि टीकाका लागि शुभ रहेको समितिले उल्लेख गरेको छ।
भाइटीका अगाडि दिदीबहिनीले "धर्मराज नमस्तुभ्यं नमस्ते यमुनाग्रज। पाहि मां किङ्करैः साद्धं सूर्यपुत्र नमो˜स्तुते भनी यमराजको प्रार्थना गर्ने गर्छन्।
साथै दिदीबहिनीले पूजा गरेर आफ्ना दाजुभाइलाई धार्मिक विधिअनुसार मण्डप बनाई अष्टचिरञ्जीवीको पूजाका साथ त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाई नओइलाउने दुबो, मखमली र सयपत्री फूलको माला, सप्तरङ्गी टीका लगाइदिएर चिरायुको कामना गर्छन्।
दाजुभाइलाई दिदीबहिनीले मिठाइ, फलफूल, ओखर, कटुस र मसलाका साथै सेलरोटी दिने तथा दाजुभाइले पनि दक्षिणा तथा उपहार दिने चलन छ।
यसैबीच दाजुभाइ नहुने दिदीबहिनी तथा दिदीबहिनी नहुने दाजुभाइहरू आज काठमाडौँको रानीपोखरीस्थित यमलेश्वर महादेवको मन्दिरमा पुगेर टीका लगाउने गर्छन्। उक्त मन्दिर प्रत्येक वर्ष भाइटीकाको दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ।
यस्तै दिदीबहिनी नहुने दाजुभाइकी साझा दिदी अञ्जली मास्केले आजै काष्ठमन्दिर परिसरमा भाइटीका लगाउँदै छिन्।
अठ्सट्ठी वर्षीया मास्केले २०५५ सालदेखि सामूहिक भाइटीकाल लगाउँदै आएकी छिन्। रासस
स्रोत :नागरिक न्युज

