|

ग्यास अभाबको हाहाकार,ओसार्ने गाडी सर्वसाधारणद्वारा नियन्त्रण

काठमाडौं, माघ १९- लामो समयदेखि खाना पकाउने ग्यास नपाएर आजित सर्वसाधारणले सिलिन्डर ओसार्ने गाडी नै नियन्त्रणमा लिन थालेका छन्। 
हिमाल ग्यासका सिलिन्डर बोकेर बनेपाबाट काठमाडौं आउँदै गरेका तीन टि्रप गाडी बुधबार बिहान भक्तपुर सल्लाघारीका स्थानीयले नियन्त्रणमा लिए। बनेपाको उक्त उद्योगबाट काठमाडौं डिपो निम्ति तीन टि्रप ढुवानी हुँदैछ भन्ने जानकारी पाएपछि स्थानीयले सल्लाघारीको बीच बाटोमै रोकेर सिलिन्डर बाँडेका थिए। नेपाली कांग्रेसका जिल्ला नेता दुर्लभ थापाले यसको नेतृत्व गरेका हुन्। उनका अनुसार बा५च ६०५६, बा५च ९४३५ र बा८च ४३२ नम्बरका गाडीमा २ सय ८० सिलिन्डर थिए।
ग्यास नपाएर बिहान-बेलुकी भात पकाउनै समस्या परेपछि बाध्य भएर गाडी नियन्त्रणमा लिनुपरेको उनले बताए। 'सरकारले तोकेकै मूल्य तिरेर ग्यास बाँडेका हौं,' उनले नागरिकसँग भने, 'खुद्रा बिक्रेतादेखि डिपोसम्म धाउँदा पनि उपभोक्ताले ग्यास पाएका छैनन्, चुल्हो बाल्न नसकेर सुत्केरीले दालमोठ-चिउरा खानुपरेको छ, हैरान भएर यस्तो कदम चाल्नुपर्‍यो।'
बीच सडकमा बिक्री सुरु भएपछि सल्लाघारीमा स्थानीय उपभोक्ताको भिड लागेको थियो। स्थानीयलाई लाम बस्न लगाएर प्रतिसिलिन्डर १ हजार ४ सय १५ रुपैयाँका दरले वितरण गरेको थापाले जानकारी दिए। दुवाकोट, कटुन्जे, सिपाडोल, सूर्यविनायक, दूधपाटी, बाराही, सुकुलढोका, वंशगोपाल लगायत क्षेत्रबाट समेत उपभोक्ता आएका थिए। 'जुनसुकै वस्तुमा उत्पादनस्थल नजिकका ग्राहकको पहिलो हक लाग्छ,' थापाले भने, 'भक्तपुरको बाटो हिँडाउने तर यहीँका ग्राहकलाई नदिने भन्ने हुँदैन।'
उपभोक्ताले तोकिएको पैसा तिर्छु भन्दा पनि ग्यास नपाएका बेला उद्योगहरूले कालोबजारी गरिरहेको थाहा पाएर नियन्त्रणमा लिएको उनले दाबी गरे। 'वाइसिएल, युथफोर्स भएको भए सित्तै बाँड्थे,' उनले भने, 'हामीले त पैसा दिएर बाँडेका छौं, कसैले गैरकानुनी भन्छ भने भनोस्।'
सरकारी समाचार संस्था राससले गाडी चालक राजाराम भुजेललाई उद्धृत गर्दै 'अन्तिम समयमा आएका केही व्यक्तिले जर्बजस्ती ग्यास झिकेर लगेको' जनाएको छ।
भक्तपुरका प्रमुख जिल्ला अघिकारी केशव आचार्यले भने ढुवानी गाडी रोकेर ग्यास सिलिन्डर बाँडिएको भन्ने उजुरी नआएको बताए। 'उहाँहरूले नियन्त्रणमा लिएर बाँड्नुभएछ, तर हामीकहाँ कोही पनि यो घटनालाई लिएर उजुरी गर्न आएका छैनन्,' उनले भने, 'हामीले जानकारी पाएपछि नियन्त्रणमा रहेका गाडीलाई सुरक्षा दिएर पठाएका थियौं।'
यो घटनापछि बुधबार दिउँसो त्यही बाटो हुँदै काठमाडौं ल्याइँदै गरेका सगर ग्यासका तीन टि्रप गाडी पनि उपभोक्ताले नियन्त्रणमा लिएका थिए। बा५च ७२४२, बा१च ६७३३ र अर्को नम्बर नखुलेको गाडीमा २ सयभन्दा बढी ग्यास सिलिन्डर थिए। यी सिलिन्डर स्थानीयले बाँड्न पाएनन्। प्रहरीले बल प्रयोग गरेर गाडी छुटायो र सुरक्षा दिएर काठमाडौंसम्म पुर्‍यायो। नियन्त्रणमा लिइएका गाडी छुटाउने क्रममा सल्लाघारी क्षेत्रमा केही बेर तनाव भएको थियो।

'हिमाल ग्यासको घटनाबारे मलाई रिर्पोटिङ भएन,' भक्तपुरका प्रहरी उपरीक्षक नारायणसिंह खड्काले भने, 'सगर ग्यास बोकेका तीनवटा गाडीलाई भने हामीले सुरक्षा दिएर काठमाडौं पुर्‍याएका हौं।'
भक्तपुरको यो घटनाबाट उद्योगी र बिक्रेता आतंकित भएका छन्। 'यसरी बाटोमै लुटिन थालेपछि कसरी बेच्नु?' एलपी ग्यास उद्योग संघका महासचिव कुशकुमार मल्लीले भने, 'सरकारले भारतबाट ग्यास ल्याउन नसक्ने, अलिअलि आएको ग्यास भरेर पठाउँदा सुरक्षा पनि दिन नसकेपछि हामीले व्यवसाय कसरी गर्नु?' सहज आपूर्ति गर्न नसके यस्तो अराजकता अझ बढ्ने उनले बताए।
उपभोक्ता अधिकारकर्मीहरूले यो घटनालाई 'असहज आपूर्तिको पराकाष्ठाले निम्त्याएको परिणाम' भनेका छन्। 'आपूर्ति असहज भइरहे योभन्दा ठूलो अराजकता निम्तिनसक्छ,' उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँले भने, 'सरकारले तत्काल आपूर्ति सहज बनाउनुपर्छ, नसके ग्यास संकटकाल घोषणा गरेर ठाउँ-ठाउँबाट बाँड्नुपर्छ।' 
लुकाएको ग्यास बिक्री 
जिल्ला प्रशासन कार्यालय भक्तपुरको अनुगमन टोलीले बुधबार गठ्ठाघरस्थित सिंह हार्डवेयरमा लुकाइराखेको १६ सिलिन्डर ग्यास उपभोक्तालाई बिक्री गरेको छ। हार्डवेयर सञ्चाकलकले ग्राहकलाई बिक्री नगरी लुकाएर राखेको भेटिएपछि नियन्त्रणमा लिएर बिक्री गरेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए। हार्डवेयर सञ्चालकलाई भने सचेत गराई छाडिएको छ।

सहज आपूर्तिको पहल
सरकारले ग्यास आपूर्ति सहज पार्न बिहीबार उद्योगी, बिक्रेता, डिलर लगायत सबै पक्षसँग छलफल गरेर विशेष कार्यक्रम ल्याउने तयारी गरेको छ। 'सरकार अहिलेको परिस्थितिप्रति गम्भीर छ,' मुख्यसचिव माधव घिमिरेले भने, 'प्रधानमन्त्रीले आपूर्ति व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ, चाँडै विशेष व्यवस्था हुन्छ।' अनुमगन प्रभावकारी बनाउन ग्यास उद्योग, डिलर र डिपोको मौज्दात संकलन गर्ने उनले बताए।
वाणिज्य मन्त्रालयले आपूर्ति सहज पार्न काठमाडौंका चार ठाउँबाट बिक्री गर्नेबारे उद्योगीसँग छलफल थालेको छ। कालिमाटी, ललितपुरको विशाल बजार, सिहंदरबारको नेसनल ट्रेडिङ परिसर र भक्तपुरबाट ग्यास बिक्रीको प्रस्ताव गरिएको वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले जानकारी दिए।
ग्यास उद्योग संघका अध्यक्ष हरि पाठकले निश्चित ठाउँमा ग्यास बिक्रीको प्रस्ताव सकारात्मक भए पनि डिलरलाई सहभागी गराउन आवश्यक भएको बताए। 'हामी यसरी बेच्न तयार छौं, यसमा डिलरहरूलाई पनि सहभागी गराउनुपर्छ,' पाठकले भने, 'उनीहरूको व्यवसाय धराशयी बनाउनुहुँदैन।'
यसबीच भारतबाट आउने ग्यास परिमाण बढेको छ। इन्डियन आयल कर्पोरेसन (आइओसी) ले बुधबार ४७ बुलेट ग्यास नेपाल पठायो। यो अघिल्लो दिनको दोब्बर हो।
'हाम्रो निरन्तर पहलपछि आइओसीले दोब्बर ग्यास दिएको छ,' आयल निगमका प्रवक्ता मुकुन्द ढुंगेलले भने, 'यसरी नै आउन थाले केही दिनमा समस्या कम हुनसक्छ।' उनका अनुसार बुधबार हल्दियाबाट २४, बरौनीबाट १८ र मथुराबाट ५ बुलेट ग्यास आएको छ।
                                                                                                                                            स्रोत :कान्तिपुर 

Posted by Butwalonline on 7:59 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "ग्यास अभाबको हाहाकार,ओसार्ने गाडी सर्वसाधारणद्वारा नियन्त्रण"

Leave a reply