नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धीं को सातौ राष्ट्रिय सम्मेलन बुटवलमा शुरु
विनोद परियार,बुटवल, ७ फागुन । नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धीं को सातौ राष्ट्रिय सम्मेलन ‘तमूवानसहितको अग्रगामी संविधानको लागि हाम्रो आन्दोलन, संघीय शिक्षा प्रणालीको पक्षमा सातौं राष्ट्रिय सम्मेलन भन्ने नाराका साथ बुटवलमा शुरु भएको छ ।
तीन दिन सम्म चल्ने सम्मेलनमा नेपालका ४८ जिल्ला सहित सिक्कीम, दार्जलिङ, देहरादुन, दिल्ली, भुटान, हङकङ, वेल्जियम, सिंगापुर लगायतबाट ५ सय ११ जना प्रतिनिधि सहभागी रहेका छन् ।
सम्मेलनको उद्घाटन गदै तमु ह्युल छोंज धीं का कार्यवाहक अध्यक्ष कुम्भराज तमुले गुरुङहरुले पहिचान सहितको संघीयता माग गरेको बताउनुभयो ।
तमु ह्युलका केन्द्रिय वरिष्ठ उपाध्यक्ष विनोद तमुले गुरुङहरुले विचारमा एकरुपता बनाउनुपर्ने बताउनुभयो । संघीयता दल विशेषको पहलमा नभई मधेस र आदिवासी आन्दोलनको आएको बताउनुभयो ।
तमु ह्युलका महासचिव रेशम तमुले पहिचान सहितको राज्यको लागि अन्तिम लडाई लड्नुपर्ने बताउनुभयो । उहाले पहिचान बाहेकको संघीयता मान्न गुरुङहरु तयार नहुने जिकिर गर्नुभयो । कार्यक्रममा सभासद् राजकाजी तमुले अहिले संघीयता विरोधी भावना आएको भन्दै तमुवानको विरुद्वमा लाग्ने विरुद्व सचेत हुनु पर्ने बताउनुभयो ।
तमु विद्यार्थीका केन्द्रिय अध्यक्ष जि.एस तमुको अध्यक्षतामा भएको कार्यक्रममा तमुस्यो ह्युला छोज धीं महिला संघकी अध्यक्ष हरीमाया तमु, तमु विद्यार्थी फाटका मनोज तमु, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघका अध्यक्ष नरबहादुर तमु, नेविसंघका पुर्व सभापति कल्याण तमु, नेपाल लोकतान्त्रिक तमु संघका केन्द्रिय सदस्य चिनबहादुर तमु, नेविसंघका केन्द्रिय सदस्य अनन्तराज त्रिपाठी, तमु ह्युलका रुपन्देही अध्यक्ष चन्द्र बहादुर तमु, अखिल क्रान्तिकारीका केन्द्रिय सचिव प्रभु महतो, अनेरास्ववियुका केन्द्रिय सचिवालय सदस्य बावुराम पन्थी लगाएतले बोलेका थिए ।
