लुम्बिनी भ्रमण वर्ष २०१२ को समापनका अवसरमा म्याराथन प्रतियोगिता
बिनोद परियार बुटवल,माघ १ - लुम्बिनी भ्रमण वर्ष २०१२ को समापनका अवसरमा माघ २ गते हुन लागेको लुम्बिनी म्याराथनको सवै तयारी पुरा भएको छ । भगवान गौतम बुद्धको जन्मस्थलमा पहिलो पटक हुन लागेको यो वृहत खेल मेलामा कुल १ सय ५० धावकले सहभागिता जनाउने म्याराथन आयोजक कमिटिका बिक्रम पाण्डेले जानकारी दिनुभयो ।
सहभागिमा ४ विदेशी छन् । नेपालका ओलम्पिक धावक वैकुण्ठ मानन्धर, खडग रानाभाट र कृष्ण बस्नेतले पनि दौड गर्नेछन । म्याराथनमा दौडने विदेशी कुटनितिक नियोगका उच्च अधिकारी, ओलम्पियन खेलाडी तथा भिक्षुहरु यो महोत्सवका मुख्य आकर्षण हुनेछन् । म्याराथन विभिन्न ५ विधामा हुनेछन् । जसमा पुरुष खुला २१ किलोमिटर, महिला १० किलोमिटर खुला, ५ किलोमिटर विद्यालय खुला, भेट्रान ४० वर्षमाथि ५ किलोमिटर, शारिरिक रुपले अशक्तका लागि ह्विलचेयर ३ किलोमिटर दौड समावेश छन् । पुरुष २१ दशमलव १ किलोमिटरको विजेताले ५० हजार, दोस्रो हुनेले ३५ हजार,तेस्रो हुनेले २५ हजार पाउनेछन् भने महिला १० किलोमिटरमा विजेताले २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार पाउनेछन् ।
