|

बिजुलीको गोदाममा सेनाले प्रयोग गर्ने ह्याण्ड ग्रिनेट

मनोज अधिकारी, पोखरा, माघ १३- बिजुली गोदाममा बुधबार भएको बिस्फोट नेपाली सेनासँग मात्र हुने '३६ ह्याण्ड ग्रिनेट' बाट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पोखरा–८ न्युरोडस्थित क्रिस्टल लाइट हाउसको गोदाममा बुधबार सामान निकाल्ने क्रममा ग्रिनेट बिस्फोट हुँदा स्याङ्जा ओरस्टेका २३ वर्षीय रामबहादुर विकको मृत्यु भएको थियो।उनी उक्त लाइट हाउसमा १० महिनादेखि काम गर्दै आएका थिए।
बिजुलीको गोदाममा सेनाले प्रयोग गर्ने ग्रिनेट कसरी पुग्यो भन्नेबारेमा गहिरो अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। सेनाले भने दशक लामो द्वन्द्वग्रस्त मुलुकमा यस्ता हतियार सेनासँग मात्र हुन्छन् भनेर व्याख्या गर्न नमिल्ने टिप्पणी गरेको छ। यस्तो ग्रिनेट नेपालमा केही वर्षअघिसम्म सेनाले मात्रै प्रयोग गर्दै आएको थियो। सेनाबाहेक नेपाल प्रहरी र सशस्त्रले समेत '३६ ह्याण्ड ग्रिनेट' प्रयोगमा ल्याएका छैनन्। सुरक्षा स्रोतकाअनुसार फ्युज जडान गरेपछि मात्र बिस्फोट हुने यो ग्रिनेटले ठूलो धनजनको क्षति पुर्‍याउने क्षमता राख्छ।

सैनिक जनसम्पर्क निर्देशनालयका प्रवक्ता रथि रमिन्द्र क्षेत्रीले ग्रिनेट कुनै फ्युज जडान नगरी आफैं बिस्फोट नहुने भएकाले बुधबारको घटनामा गहिरो अनुसन्धान आवश्यक रहेको बताए। लाइट हाउसका कर्मचारी विक सामान लिन अपराह्न पौने १ बजे सटर खोलेर गोदाम पसेलगत्तै बिस्फोटमा परेका थिए। बिस्फोटबाट उनको हात र अनुहार क्षतविक्षत् भएको थियो।

'यो ग्रिनेट आफैं पडि्कने हालतमा कहिलै पनि हुँदैन', क्षेत्रीले नागरिकसँग भने- यसमा प्रयोग हुने फ्युज जडान गरेपछि मात्र ग्रिनेट पडि्कने हो। बुधबारको घटनामा पनि यो आफैं पडि्कएको भन्ने मिल्दैन, त्यसैले गहिरो अनुसन्धान गर्नुपर्ने देखिन्छ।

उनका अनुसार केही वर्षअघिसम्म नेपाली सेनाले प्रयोग गर्दै आएको यो ग्रिनेट हाल प्रयोगमा छैन। यस्तो ग्रिनेट निकै घातक हुने उनी बताउँछन्। अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले सेनाको '३६ ह्याण्ड ग्रिनेट' द्वन्द्वका बेला माओवादीले लुटेको वा सैनिक क्षेत्रकै व्यक्तिबाट बाहिरिएको हुन सक्ने अनुमान गरे। 'कसैले यस्तो हतियार राख्‍न दिएको पनि हुन सक्छ', ती प्रहरीले भने- सेनाबाट द्वन्द्वका बेला माओवादीले लुटेका हतियार त्यहाँ ल्याइपुर्‍याएको पनि हुन सक्छ, यसमा हामी अनुसन्धान गरिरहेका छौं।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कार्यरत् नारायणमान श्रेष्ठका जेठा छोरा सुरज श्रेष्ठको उक्त लाइट हाउसमा ८ महिनाअघिसम्म नेपालगञ्ज घर भएका युवक पनि काम गर्थे। स्याङ्जा ओरस्टे गाविस–४ का विक सभागृहचोकस्थित बिक्री कक्ष र ५० मिटर दूरीको गोदाममा बिजुलीका सामान राख्‍ने र आवश्यक पर्दा निकाल्ने काम गर्थे।
प्रहरीले उनको व्यक्तिगत विवरणसमेत अध्ययन सुरु गरेको छ। जिल्ला प्रहरीका डिएसपी तुलबहादुर कार्कीले पसलमा काम गर्ने कर्मचारी र सञ्चालकबाट घटनाको अनुसन्धान थालिएको बताए।

लाइट हाउसको गोदाम रहेको माधव बस्यालको घरको भुइँ तलाको सटरभित्र उक्त विस्फोट भएको थियो। प्रहरीले सोही गोदाममा अर्को ग्रिनेट पनि फेला पारेपछि सेनासहितको टोलीले बुधबारै साँझ सुरक्षितरुपमा डिस्पोज गराएको थियो। प्रहरीले उक्त घरमा सिल लगाएका कारण बुधबार बस्याल परिवार र छिमेकीसमेत घरमा बसेनन्। बिहीबार मध्याह्न १२ बजे प्रहरीले सम्पूर्ण जेकजाँचपछि थप ग्रिनेट नरहेको पुष्टि भएपछि मात्र सिल खोलेर घरधनीलाई प्रवेश गर्न दिएको छ। प्रहरीले लाइट हाउस सञ्चालक श्रेष्ठलाई नियन्त्रणमा लिई हातहतियार खरखजना मुद्दामा अनुसन्धान गरिरहेको छ।
                                                                                                                                                स्रोत :नागरिक

Posted by Butwalonline on 2:45 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बिजुलीको गोदाममा सेनाले प्रयोग गर्ने ह्याण्ड ग्रिनेट"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु