स्वैच्छिक अवकास रोजेका लडाकुहरुलाई बिदाई गर्न तीन दिन भित्र प्रक्रिया थाल्ने
काठमाडौ, माघ १३ - माओवादी लडाकुको रेखदेख,समायोजन र पुनःस्थापना सम्बन्धी विशेष समितिले स्वैच्छिक अवकास रोजेका लडाकुहरुलाई बिदाई गर्न तीन दिन भित्र प्रक्रिया थाल्ने भएको छ । प्रधानमन्त्री बाबुराम भट्टराईको अध्यक्षतामा बसेको बैठकले लडाकुलाई बिदाई गर्ने प्रक्रिया तत्काल थाल्न आफ्नो सचिवालयलाई निर्देशन दिएको छ ।
यसअघि पुस १७ गते बसेको बैठकले २० दिन भित्र बिदाई गरिसक्ने गरी प्रक्रिया थाल्न सात दिनको समय निर्धारण गरेको थियो । तर उक्त प्रक्रिया अगाडि बढ्न सकेको थिएन । बैठकले पूरानै निर्णयलाई कार्यान्वयनमा जोड दिएको छ ।
बैठकपछि माओवादी नेता तथा अर्थमन्त्री वर्षमान पुनले बिदाई प्रक्रिया तत्काल थाल्न भएको सहमति अनुसार सचिवालयलाई निर्देशन दिइएको बताए । ७ हजार ३ सय ६५ जना लडाकुले स्वैच्छिक अवकास रोजेका छन् । तीनलाई दर्जा अनुसार ५ लाखदेखि ८ लाख रुपैयाँ प्रदान गरिने भएको छ ।
पहिलो किस्तामा आधा रकम तथा यातायात खर्च दिएर बिदाई गर्ने तयारी छ । लडाकुलाई रकम दिन अर्थले शान्ति मन्त्रालयमा बजेट पठाएको छ ।
कांग्रेस नेता रामशरण महतले पहिले भएका निर्णय कार्यान्वयन नभएकोमा बैठकमा आपत्ति जनाएको बताए । उनले पूरानै निर्णय कार्यान्वयनका विषयमा बैठकमा छलफल भएको जानकारी दिए ।
समायोजनमा जाने लडाकुका विषयमा प्रधानमन्त्रीले नेपाली सेनासंग कुरा गरेर प्रक्रिया अगाडि बढाइने बैठकमा सहमति भएको छ ।
स्रोत :कान्तिपुर