|

पोल्यान्ड पठाउने भन्दै १३ करोड रुपैयाँ असुली म्यानपावर सञ्चालक फरार



काठमाडौ, मंसिर २७ - पोल्यान्ड लैजाने भन्दै  ६ सय कामदारसँग १३ करोड रुपैयाँ असुली वेल इन्टरनेसनल म्यानपावरकी सञ्चालक विमला लामा फरार भएकी छन् ।
पीडितहरूका अनुसार काठमाडौं चाबहिलस्थित उक्त म्यानपावरकी प्रमुख लामा मंसिर २४ गतेदेखि बेपत्ता छिन् । उनले प्रत्येक कामदारसँग ७५ हजारदेखि ३ लाख पचास हजार रुपैयाँसम्म असुल गरेकी छन् । दुई वर्षअघिदेखि रकम उठाएकी विमलाले रकम फिर्ता लिन २४ मंसिरमा बोलाएकी थिइन् । त्यही दिनदेखि उनी बेपत्ता छिन् भने कार्यालय बन्द छ । विभागमा तीन सयभन्दा बढीले उजुरी हालिसकेका छन् । वैदेशिक रोजगार विभागले उक्त म्यानपावर कम्पनीमा संलग्न तीन जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ । विभागले कम्पनीमा छापा मारी कागजात बरामद गरेको छ । विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले भने, 'लामाविरुद्ध पक्राउ पुर्जी जारी गर्नुका साथै सम्पत्ति रोक्का प्रक्रिया सुरु भइसकेको छ ।'
 म्यानपावर सञ्चालक फरार भएपछि तीनकुनेस्थित वैदेशिक रोजगार 
विभागको कार्यालयमा सोमबार उजुरी गर्न आएका पीडितहरू आफूले
 रकम बुझाएको रसिद देखाउँदै ।

लामाले पैसा उठाएको वेल म्यानपावर भने विभागमा दर्तासमेत छैन । 'वेल म्यानपावरलाई विभागले अनुमति नै दिएको छैन,' विभागका निर्देशक लालबाबु कवारीले भने, 'यसअघि उनको नाममा रहेको विल म्यानपावर खारेज गरी धरौटीसमेत जफत भइसकेको छ ।'             
विमलाले करिब दुई वर्षअघि पोल्यान्डमा कामदार उडाउन भन्दै सार्वजनिक विज्ञापन गरी कामदारसँग सुरुमा एक हजार अमेरिकी डलर लिन थालेको पीडितहरूले बताए । 'तीन महिनापछि उडाउने भन्दै पैसा लिइन्,' एक वर्षअघि तीन लाख पचास हजार रुपैयाँ बुझाएका देउबहादुर तामाङले भने, 'तीन महिना कटेपछि महिना सार्दै लगिन् । अस्ति शनिबारदेखि बेपत्ता छिन् ।'ठगिएकामा अधिकांश नजिकका आफन्त र नातेदार छन् ।
                                                                                                                                          स्रोत :कान्तिपुर 

Posted by Butwalonline on 7:54 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पोल्यान्ड पठाउने भन्दै १३ करोड रुपैयाँ असुली म्यानपावर सञ्चालक फरार"

Leave a reply