|

कराते होइन खेल्न त फुटबल नै खेलेको हो

काठमाडौँ, साउन २० - फुटबलमा अनुशासन न्युनतम शर्त हो। तर दशरथ रंगशालामा जारी साफ यु-१६ च्याम्पियनसिप फुटबलमा बिहीबार नेपाल र बंगलादेशको खेललाई आधारमा मान्ने हो भने फुटबलसँग अनुशासनको कुनै साइनो छैन। जहाँ खेलको दोस्रो हाफमा फुटबल कम, विवाद धेरै भयो।
दुवै टोलीका खेलाडी सामान्य फाउलमा पनि एकअर्कालाई आक्रमण गर्न तम्सिन्थे। रेफ्री माल्दिभ्सका अहमद अस्लाम पनि एकदमै निरीह देखिए। उनले कुनै पनि समय खेललाई नियन्त्रणमा राख्न सकेनन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) को महŒवाकांक्षी योजना एन्फा एकेडेमीबाट उत्पादित खेलाडीको बाहुल्यता रहेको नेपाली टोली विवादमा बंगलादेशी टोलीभन्दा निकै माथि देखियो। पछिल्लो चार वर्षदेखि एन्फा एकेडेमीमा बसेर फुटबलको गुण सिकेका खेलाडीका विषयमा खेल हेरेर फर्केका दर्शकको प्रतिक्रिया थियो, 'यी त खेलाडीभन्दा पनि लडाकुजस्ता देखिए।' बंगलादेशी खेलाडीको कुनै पनि फाउलमा उनीहरू हुल बाँधेर प्रतिकारमा उत्रिए।
प्रशिक्षकद्वय सुनिल श्रेष्ठ र मृगेन्द्र मिश्रले पनि खेलाडीलाई साम्य पार्ने प्रयास गरेनन्। एन्फा उपाध्यक्ष एवम् प्रवक्ता ललितकृष्ण श्रेष्ठ भने टचलाइनसम्म पुगेर खेलाडीलाई सम्झाउने प्रयास गरिरहेका देखिन्थे। तर पनि खेलाडीको व्यवहारमा खासै परिवर्तन आएन।
खेलपछि रंगशाला बाहिरिँदै गरेका खेलाडीमध्ये हेटौंडाका ऋषि थापामगरलाई स्थानीय दर्शकले संयमित भएर खेल्न सम्झाउँदै थिए। ऋषिले उल्टो ती दर्शकलाई यसरी जवाफ थिए, 'यो चेस हो र दाई। तपाईहरूले हुप्रा चौरमा खेले जस्तो हो। यहाँ यत्रो क्राउड हुन्छ, यहाँ खेल्न कति गाह्रो हुन्छ तपाईलाई थाहा छ।' उनको भनाइबाट लाग्थ्यो फुटबलमा अनुशासनको कुनै ठाउँ छैन। उनीहरूले जसरी खेले त्यो सही थियो।
प्रशिक्षक श्रेष्ठले भने खेलाडी अनुशासनहीन भएको स्वीकार गरेनन्। 'कराते होइन खेल्न त फुटबल नै खेलेको हो। विपक्षीले उत्तेजित पार्ने प्रयास गरिरहे। त्यसपछि हाम्रा खेलाडी केही रिसाएर खेले। नियन्त्रण गर्दागर्दै पनि अलि बढी विवाद भयो,' उनले भने, 'तर अनुशासनहीन नै भन्न मिल्दैन। हामी उनीहरूलाई फुटबलसँगै अनुशासन पनि सिकाउँछौं।'

बंगलादेशका सहायक प्रशिक्षक तोताम सुकुर मोहम्मदले पनि दुवै टोली झगडामा उत्रिएको बताए। एन्फा एकेडेमीकै खेलाडी उद्दण्ड देखिएपछि भविष्यमा नेपाली टोली कस्तो बन्ला अहिले अनुमानमात्र लगाउन सकिन्छ।साभार :नागरिक न्यूज 

Posted by Butwalonline on 10:20 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कराते होइन खेल्न त फुटबल नै खेलेको हो"

Leave a reply