|

पोखरामा अब केन्द्रीय फिल्म स्टुडियो बन्ने

कास्की, श्रावण ३ - सरकारले चलचित्र नगरी बनाउने घोषणा गरेपछि पोखरामा अब केन्द्रीय स्टुडियो बन्ने भएको छ । स्टुडियो लगायतका सम्पूर्ण प्राविधिक व्यवस्थापनपछि बलिउडको मुम्बई जस्तै नेपाली फिल्मको सबै गतिविधि पोखराबाटै हुने चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारीले बताएका छन् । चलचित्र नगरी घोषणालगत्तै छलफलका लागि पोखरा आएका भण्डारीले गुरुङ फिल्म एसोसिएसनद्वारा आयोजित अन्तरसंवादमा सोमबार 'मुलुककै चलचित्रको केन्द्र पोखरा हुने' दाबी गरे ।

'अब लगत्तै काम सुरु गर्नेछांै, तीन महिनाभित्रै फिल्म स्टुडियो निर्माण कार्य अघि बढाइनेछ,' उनले भने, 'चलचित्र नगरीको सम्पूर्ण योजना तीन वर्षमा पूरा हुनेछ ।' भौतिक पूर्वाधार लगायतका कामका लागि २ अर्ब रुपैयाँ बराबरको योजना अघि सारिएको उनले जानकारी दिए । पोखरादेखि ३० किमी टाढा धिताल गाविसको झन्डै २ सय रोपनी जग्गामा फिल्मको केन्द्रीय स्टुडियो निर्माणका लागि छनोट भइसकेको पनि उनले खुलाए । 'यसपछि पूर्वमा क्षेत्रीय स्टुडियो निर्माण गर्नेछौं,' उनले भने ।

सांस्कृतिक विविधता, प्राकृतिक मनोरमता, सुविधायुक्त होटलका कारण चलचित्रका प्रायः गतिविधि यही हुने भएकाले केन्द्रीय स्टुडियोका लागि पोखरा उपयुक्त थलोको रूपमा छनोटमा परेको उनले बताए । 'राजधानीबाट नजिक पनि छ,' उनले भने । बजेटमा सरकारले पोखरालाई चलचित्र नगरी बनाउने घोषणा गरे पनि विस्तृत कार्ययोजना प्रस्तुत नगरेकोमा भने स्थानीय चलचित्रकर्मीहरूले आलोचना गरे । घोषणा गरेको कार्यक्रमलाई तत्काल कार्यान्वयनका लागि उनीहरू दबाबस्वरूप पहिलोपटक अन्तरक्रिया र छलफलमा जुटेका हुन् । 'अब तत्काल कार्यान्वयन गरे हामीले वर्षोदेखि उठाएको माग बल्ल सार्थक हुन्छ,' गुरुङ फिल्म एसोसिएसनका अध्यक्ष माओत्से गुरुङले भने, 'नारामा मात्रै सीमित हुनु भएन ।'

प्राकृतिक स्टुडियोका रूपमा मानिँदै आएको पोखरालाई चलचित्र नगरी बनाउनु पर्ने आवाज वषौर्ंदेखि उठ्दै आएको थियो । पोखरानजिकैकेा लेखनाथमा करोडौं खर्चेर फिल्म स्टुडियो बनाएका सिने प्लाजा पोखराका अध्यक्ष उत्तम द्वाले 'पोखरा चलचित्रको केन्द्र बन्ने खबरले आफूलाई उत्साही बनाएको' बताए । पछिल्ल्ाा वर्षहरूमा ५० प्रतिशतभन्दा बढी सिनेमाहरू छायांकनका लागि पोखरा नै आउने गरेका छन् । यहाँ तीसको दशकदेखि सिनेमा छायांकन सुरु भएको थियो । बलिउडको 'लभ इन नेपाल', बंगलादेशी फिल्म 'रिभेन्ज' र थाइल्यान्डको 'टुबी लभ' अधिकांश सुटिङ पोखरामै भएको थियो ।
Source:kantipurnews

Posted by Butwalonline on 7:30 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पोखरामा अब केन्द्रीय फिल्म स्टुडियो बन्ने"

Leave a reply