|

भगवान गौतम बुद्धको आज २५ सय ५६ औ जन्मजयन्ती


काठमाण्डौ वैशाख २४-भगवान गौतम बुद्धको २५ सय ५६ औ जन्म जयन्ति आईतबार बौद्ध धर्माबलम्बीहरुले नेपाल लगायत विदेशमा पनि धुमधामका साथ मनाउदै छन । गौतम बुद्धको जन्म र मृत्यु भएको विश्वासका साथ हरेक बर्षको वैशाख पुणर्ीमाको बिशेष महत्व रहेको छ । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा विहानै देखी स्वदेशी तथा विदेशी वौद्ध धर्माबलम्बीको बाक्लो उपस्थिती रहेको छ । बुद्ध जयन्तिकै अबसर पारेर सरकारले आज सार्बजनिक विदा समेत दिएको छ । गौतम बुद्धको शाक्य बंशमा इशापूर्ब पाँच सय बर्ष अगाडि जन्म भएको हो ।

यसैबीच सरकारले सन २०१२ लाई लुम्बिनी भ्रमण बर्ष घोषणा गरि लुम्बिनी भ्रमणबर्ष पनि मनाईरहेको छ । बुद्ध जयन्तीको अबसरमा महायानी, बज्रयानी र थेरबादी बौद्ध गुरु तथा भिक्षु लामाहरुले पुजा पाठ गरीरहेका छन् । कार्यक्रममा भाग लिन बुद्ध जन्मस्थल लुम्बिनीमा दक्षिण कोरीयाली बरिष्ठ भिक्षु सनमक हेजा, विभिन्न देशका राजदुतहरु, विशिष्ट पाहुनाहरु, नेपाल सरकारका सचिव, सभासदहरु, दलका नेताहरु, बौद्ध धर्मालम्बीहरु, संघ संस्थाका प्रतिनिधीहरु लुम्बिनी पुगेको विकास कोषले जनाएको छ ।
यसैबीच राष्ट्रपति डा रामवरण यादवले महामानव गौतम बुद्धको २५ सय ५६ औँ जन्म जयन्तीको उपलक्ष्यमा एक शुभकामना सन्देश दिँनुहुदै आजको यस पवित्र दिनले नेपालका सम्पूर्ण धर्माबलम्वी, जातजाति, भाषाभाषीलाई एकताबद्ध भई आपसी सद्भाव तथा भ्रातृत्व अभिवृद्धि गर्न र देशमा शान्ति तथा सुव्यवस्था गर्न प्रेरित गर्ने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

उपराष्ट्रपति परमानन्द झाले पनि शान्ति र अहिंसाका प्रतिमूर्ति एवम् अग्रदूत भगवान गौतम बुद्धले देखाउनुभएको सद्मार्ग सबैका लागि सदैव अनुकरणीय र मननीय रही आएकोभन्दै शुभकामना दिनु भएको छ ।
यसैबीच प्रधानमन्त्री डा बाबुराम भट्टराईले शान्तिका अग्रदूत गौतम बुद्धले सम्पूर्ण मानव जगत्को कल्याण गर्न गृहत्याग गरी कठोर परिश्रमबाट प्राप्त गर्नुभएको बोधीज्ञान आजसम्म पनि उत्तिकै शाश्वत रहेको बताउनुभएको छ । २५ सय ५६ औँ बुद्धजयन्तीका अवसरमा दिनुभएको शुभकामना सन्देशमा प्रधानमन्त्री डा भट्टराईले बुद्धको दर्शन कुनै एक सम्प्रदायको लागिमात्र नभई सम्पूर्ण मानव कल्याणका लागि भएको र यस दर्शनले भविष्यमा पनि मानव कल्याणमै योगदान दिइरहने विश्वास व्यक्त गर्नुभएको छ ।

बुद्व जयन्तीको अवसरमा बिभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले पनि छुट्टाछुट्टै शुभकामना सन्देश दिनुहुँदै बुद्धले दिएको ज्ञान र सन्देश अहिले पनि आम नेपालीले अनुसरण गर्नुपर्ने बताएका छन् ।
समाचार ओंनलाइन खबर 

Posted by Butwalonline on 7:04 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "भगवान गौतम बुद्धको आज २५ सय ५६ औ जन्मजयन्ती"

Leave a reply