कोइलापानी कहर (फोटो फिचर)
विकास
कार्की, काठमाडौं, असार ३२ - नेपाल पुलिस क्लबले ए डिभिजन लिगमा ह्याट्रि
गरेर बनाएको स्वर्णिम इतिहासको खुसी दशरथ रंगशालामा मनाइरहँदा शनिबार
भर्खरै रचिएको अर्को इतिहासको भने दुखद अन्त्य भइसकेको छ। मोफसलको पहिलो
टोलीका रूपमा ए डिभिजनमा पाइलो राखेको नवलपरासीको कोइलापानी पोलस्टार
क्लबको आँसुले सायद भावुक फुटबलप्रेमीको मनमा पुलिसको खुसीयालीभन्दा बढी
छाप पारेको छ।
कमजोर आर्थिक अवस्था,
अनुभवको कमी जस्ता कमजोरीका कारण टोलीले काठमाडौं उपत्यकाबाहिरको पहिलो
क्लबका रूपमा ए डिभिजनमा पाइलो राखेर इतिहास बनाएको एक वर्ष पनि त्यसलाई
कायम राख्न सकेन। सहिद
स्मारक ए डिभिजन लिग फेरि मोफसलको कुनै क्लबले ए डिभिजन खेल्न सपना देख्दा
पनि दुस्वप्न सम्झेर तर्सनुपर्ने गरी उपत्यकाको घेरोभित्र फेरि साँघुरिएको
छ। ए डिभिजनको खर्चिलो यात्रा थेग्न नसक्दा बीचमै लिग छोड्नुपर्ने अवस्था
सार्वजनिक गरेपछि अघि बढेका सहयोगी हातले कोइलापानीलाई कम्तिमा १७ खेलसम्म
काठमाडौंमा टिक्न सम्भव गरायो।
आफ्नो
अन्तिम खेल सकिएको भोलिपल्टै कोइलापानीले नवलपरासीको बाटो ततायो। खेल
सकिएपछि महँगो काठमाडौंमा एक दिन बसेर समापनमा सहभागी हुनका लागि पनि
टोलीको आर्थिक अवस्थाले अनुमति दिएन।
यतिखेर कोइलापानीको टोलीले
नवलपरासीमै बसेर पुलिसको खुसीयालीको समाचारसँग अपडेट भइरहेका छन्। मोफसलको
पहिलो र एकमात्र टोली भएकाले कोइलापानीलाई बसोवासका लागि अखिल नेपाल फुटबल
संघ (एन्फा) ले च्यासलस्थित सुविधाहिन टेक्निकल सेन्टर उपलब्ध गराएको थियो।
आवासीय एकेडेमीको प्रयोजनका लागि बनाइए पनि शौचालय, पिउने तथा नुहाउने
पानी, भान्छा तथा डाइनिङ अनि शयनकक्षको उपयुक्त व्यवस्था नभएको च्यासल
टेक्निकल सेन्टरमा चित्त बुझाउनुको कोइलापानीका खेलाडीसँग कुनै विकल्प थिएन। ए
डिभिजन उक्लने इतिहास बनाएर
नवलपरासी जिल्लाको सान बन्न सफल कोइलापानीका
खेलाडीको गौरवमय शीर्ष डिभिजन यात्राको सबैभन्दा निरीह साक्षी नै सायद
च्यासल बसाइ थियो। हरेक खेलमा विजयविमुख भएपछि १७ मध्ये तीन खेलमा गरेको
बराबरी नै कोइलापानीको सफलता बन्यो।
जिल्लामै
ठुल्ठुला औद्योगिक प्रतिष्ठान भएपनि कोइलापानीले यो गौरवमय यात्रामा तिनको
साथ नपाउनुको परिणाम पनि थियो, त्यो दुखद बसाइ। विवादका बेला दुई तिरैबाट
गरिएकामध्ये एन्फाको बी डिभिजन लिगमा उपविजेता भएर टोलीले बनाएको शीर्ष
डिभिजनको हैसियत एकै सिजनमा गुमाउँदा यतिमात्र कारण थिएनन्। सायद नेपाली
फुटबलको सर्वोच्च निकाय एन्फाले पनि मोफसलमा फुटबल विकासको उत्प्रेरणा
जगाउन कोइलापानीलाई विशेष व्यवस्था गर्नुपर्थ्यो, च्यासल एकेडेमीमा बस्न
दिएर झारो टार्नुमै मात्र एन्फाको जिम्मेवारी पूरा पक्कै हुँदैन। साथमा
शीर्ष डिभिजनमा निराशाजनक सिजन बिताएपछि कोइलापानीलाई पनि धेरै शिक्षा
मिलेको हुनुपर्छ। टोलीका अध्यक्ष विष्णु अधिकारी तथा व्यवस्थापक ताराप्रसाद
भुषालले फेरि ए डिभिजनमा फर्कन प्रयास गर्ने बताएका छन्।
उनीहरूले
अब आउँदा यसपालि पाइएको शिक्षा काम लाग्ने बताएका छन्। 'ए डिभिजनमा आउँदा
धेरै तयार भएर आउनुपर्ने रहेछ, आर्थिक रूपमा बलियो हुनुपर्ने रहेछ, राम्रा
खेलाडी र राम्रा प्रशिक्षक चाहिने रहेछ,' कोइलापानीका अधिकारीहरूले बुझेको
यो पाठ व्यवहारमा लागु गर्न सके भविश्यमा कुनै मोफसलको टोलीले उपत्यकामा
बबुरो बन्नुपर्ने छैन।