नौ-शून्यबाट एक-एक
![]() |
तर नेपालले विश्वकप छनोटको एसियाली दोस्रो चरणको दोस्रो लेगमा बिहीबार जोर्डनविरुद्ध गजब खेलेको निश्चित रूपमा हो, प्रशंसाका लागि केही शब्द खर्चिन कन्ज्युसाइँ नगरे हुन्छ । सन् १९८२ यता नेपालले अन्तर्राष्ट्रिय फुटबलमा प्रवेश गरेयता बिहीबारको खेल १ सय ४५ औं हो । यति धेरैमा यो खेल अनेक अर्थमा नेपालका लागि सर्वाधिक सम्झनालायक हुनेछ ।
एसियामा खाडी देशहरू फुटबलका शक्ति हुन् । इरान र साउदी अरेबियापछि आउने केही टिममा जोर्डन पनि पर्छ । यस्तोमा नेपालले खाडी देशका टिमलाई बराबरीमा रोकेको समेत यो पहिलोपल्ट हो । पहिलो लेगमा बेहोरेको ९-० को हारयता १-१ को बराबरी निकाल्नु गर्विलो उपलब्धि हो । पाँच दिनको अन्तरमा यो यात्रा अविश्वसनीय तर वास्तविकता
भएको छ ।
'आज नेपाली खेलाडीले देशका लागि खेले, राष्ट्रियताका लागि खेले,' नेपाली प्रशिक्षक ग्राहम रोबर्ट्सले भने । बराबरीमा नेपाली टिमको प्रदर्शनका विशेषताहरू थिए, बलमाथि नेपालको बढी प्रभुत्व, पोस्टमाथि नेपालको बढी आक्रमण । भावनात्मक रूपमा बराबरी भए पनि आफूले जितेको अभिमान गर्न सक्ने प्रदर्शन ।
जोर्डनविरुद्धको यो खेलका तीन विशेष र सुन्दर पक्ष छन् । पहिलो, भरत खवासको गोल । उनको यो गोल अन्तर्राष्ट्रियस्तरको थियो, ठीक यस्तै गोल उनले एएफसी च्यालेन्ज कपमा अफगानिस्तानविरुद्ध पनि गरेका
थिए । सुखद संयोग मान्नुपर्छ, बिहीबार उनको जन्मदिन पनि हो । उनले जन्मदिन खुसी र उमंगसँग मनाएका छन् ।
दोस्रो पक्ष रोहित चन्दले २५ औं मिनेटमा मुस्तफा सुलेमनमाथि गरेको अविश्वसनीय ट्याकल । त्यो ट्याकलको तीन नतिजा हुन सक्थ्यो, रोहित असफल भएको भए सुलेमानसामु गोल गर्ने निश्चित अवसर हुन्थ्यो । ट्याकलमा केही मात्र पनि गढबढी भएको भए, रोहितले रातो कार्ड खाने निश्चित थियो ।
तर त्यो क्लिन ट्याकल रह्यो । यो वास्तवमै आर्सनल र टोटेनहमले आँखा लगाउनुपर्ने क्षण थियो । तेस्रो पक्ष, सन्तोष साहुखलको उत्कृष्ट प्रदर्शन । उनले पूरा ९० मिनेट खेले, प्रत्येकपल्ट बल आपmनो नियन्त्रणमा हुँदा जोर्डनी डिफेन्सलाई दबाबमा राखे । नेपालका पूर्वजर्मन प्रशिक्षक थोमस फ्लाथले एकपल्ट भनेका थिए, 'सन्तोष मर्सिडेज कार होइनन् । उनी साधारण कार जस्ता मात्र हुन् ।'
यसपल्ट सन्तोषको प्रदर्शन मर्सिडेज कारभन्दा पनि उच्च
थियो । मैदान बाहिर पनि दुई सुखद पक्ष देखा पर्यो । पहिलो, कप्तान सागर थापाको भनाइ । उनले पोस्ट म्याच कन्प|mेन्समा भने, 'यहाँको माटोलाई हाम्रा खेलाडीले मात्र चिनेका छैनन्, माटोले पनि हामीलाई चिनेको छ । आफ्ना दर्शक अगाडि खेल्दा हामीमा गजबको फूर्ति आउने गर्छ ।'
र, अन्त्यमा प्रशिक्षक रोबटर््सकै भनाइ । उनको दाबी थियो, 'हामी दक्षिण एसियाकै नम्बर-१ टिम हौं, फिफा वरीयताले यही भन्छ । हामी भारत र माल्दिभ्सभन्दा अगाडि छौं । आज जस्तै नेपालले खेल्ने हो भने साफ च्याम्पियनसिपमाथि हाम्रो कब्जा निश्चित छ । म त्यो दिनलाई कुरिरहेको छु ।'
साभार:कान्तिपुर