मुगु अस्पतालमा बिरामीको बिचल्ली
मुगु, अषाढ २३ - जिल्ला अस्पतालमा उपचार उपकरण र स्वास्थ्यकर्मीको अभाव हुँदा बिरामीहरू बिचल्लीमा परेका छन् । उपचारका लागि अस्पताल पुगेकी रुगाकी ३३ वर्षीया जानशिला लावडले शय्या अभावले भुइँमै पल्टिएर उपचार गराइन् । सातादेखि ज्वरो र टाउको दुखेर थलिएकी जानशिलाले चिसो सिमेन्टमा सुत्दा झनै बिरामी भएर र्फकेको बताइन् ।
'अस्पतालमा राम्रोसँग पल्टिने सफा ठाउँ छैन, औषधोपचारको कुरा टाढाको,' उनले भनिन् । २ पटक आउँदा पनि राम्रो उपचार नपाएको गुनासो उनको छ । जिल्ला अस्पतालमा 'हुने-खाने टाठाबाठा' ले मात्र उपचार पाउने गरेको अर्की बिरामी करुणा लावडले बताइन् । 'निःशुल्क औषधि पाइएला भनेर आउँछौं । सेतो कागतमा लेखेर मेडिकल जान सिफारिसबाहेक केही हुन्न,' उनले बताइन् ।
०६३ देखि सञ्चालनमा आएको १५ शय्याको जिल्ला अस्पतालमा व्यवस्थापन कमजोरीले अस्पताल लथालिंग छ । अस्पतालमा जेनतेन ९/१० वटा बेड बिनातन्ना फोहोरले दुर्गन्धित अवस्थाका छन् ।
पिउने पानी समस्याले उपचारका लागि अस्पतालमा आउने अधिकांश बिरामीले घरबाटै जर्किनमा बोकेर आउने गरेका छन् । शौचालय नहुँदा लुकेर भवन पछाडि दिसापिसाब गर्नुपर्ने बाध्यता रहेको एक स्वास्थ्यकर्मीले बताए । 'अस्पतालको बेहाल देखेर बिरामीहरू यहाँ आउन चाहँदैनन्,' डा. किशोर परियारले भने । उनलाई पनि काजमा पठाएको हो । स्वास्थ्य प्रमुख चक्रबहादुर मल्लले अस्पतालप्रति स्थानीयका गुनासा आउन थालेपछि शौचालय र खानेपानी मर्मत तथा फोहोर व्यवस्थापन गर्न थालेको बताए ।
३६ कर्मचारी दरबन्दी रहेको अस्पतालमा स्वास्थ्य प्रमुख मल्ल, डा. परियार, ३ अहेव र एक अनमीमात्र छन् । करिब ३ वर्षअघि स्वास्थ्य विभागले पठाएको एक्सरे मेसिन अहिलेसम्म प्रयोगमा नल्याउँदा खिया लागेर बिग्रेको छ । ल्याब पनि चालू अवस्थामा छैन ।
Source:Kantipurnews
