|

रातभर जागै बस्छन् राप्तीछेउका बासिन्दा

रुद्र खड्का, नेपालगन्ज, असार २३ - पहाडी भेगमा लगातार परेको पानीले राप्ती नदी बढेर घरको आँगनमै पुगेपछि होलिया, टेपरीका कानु रैदास दुई दिनयता रातमा राम्रोसँग सुत्न सकेका छैनन्। पानीले सतह नाघेर घरमा पस्ला भन्ने डरले जागै बसेका कानु अझै कति रात जागै बस्नु पर्ने हो भनेर चिन्तित छन्।'अन्यत्र जाने ठाउँ छैन, राति आरामले सुत्ने हो भने नदी बढेर बगाउला भन्ने पीर छ,' सोह्र सदस्यका अभिभावक उनले भने, 'सीमामा भारतले 'एफलक्स वण्ड' र लक्ष्मणपुर बाँध बनाएपछि सालैपिच्छे दुःख भोग्नुपरेको छ।'

स्थानीय क्षेत्रमा ठूलो पानी नपरे पनि पहाडमा पानी लगातार परिरहेकाले स्थानीय धनजनको क्षति हुनसक्ने भन्दै पीर मान्दै बसिरहेका छन्। होलियाको टेपरी गाउँमा पानी पस्न थालेको स्थानीय विजय यादवले बताए।
यसअघि भदौतिर डुबान हुनेगरेको ठाउँमा यसपालि असारमै पानी भरिन थालेपछि सर्वसाधारण सुरक्षित हुने उपाय खोजिरहेका छन्।भारतले २०५६ देखि बनाउन थालेको पाँच फिट उँचो 'एफलक्स वन्ड' अहिलेसम्म १३ किलोमिटर अग्लो बनिसकेको छ।

हालै नेपाल र भारतबीच प्राकृतिक नदीनालाको पानी सहज रुपमा बग्न दिने सहमतिअनुसार यसै साता भारतले गन्धलिया र सन्तलिया नालाको पानी सहज बग्न दिएको यादवले बताए। 'टेपरी गाउँमा चाहिं सीधै नदी पस्न थालेकोले बढी जोखिम देखिएको हो,' उनले भने।
नदीको पानी गाउँमा पुगेकाले जुनसुकै बेला पूरै गाउँ बग्न सक्ने खतरा रहेको स्थानीयले जानकारी दिए। 'नदी गाउँ पसे ज्यान र सम्पत्ति जोगाउने कुनै उपाय छैन,' स्थानीय रामजिआउल धोबीले बताए। नदीले खेतीयोग्य जमिन कटान गरी गाउँको मुखछेवैमा आइपुगेको छ।
एक सातामा करिब सय विघा जमिन नदीले कटान गरिसकेको स्थानीयले जनाएका छन्। नेपालबाट बग्ने गन्धलिया र सन्तलिया नालाको पानी भारतले रोक्ने बित्तिकै कुनै पनि बेला राप्तीछेउका स्थानीय डुबानमा पर्नेछन्। दुवै नाला हुँदै बग्ने पानीलाई सहज रुपमा बग्न नदिएकाले हरेक वर्ष ६ हजार बासिन्दा डुबानको पीडा भोग्दै आएका छन्।

भारतले राप्तीको पानी प्रयोग गर्न लक्ष्मणपुरमा बाँध बनाएको छ। साना नालाहरूलाई रोक्न ठाउँठाउँमा अरु बाँध निर्माण गरेको छ। जसले गर्दा पहाडी भेगबाट आएको पानी बग्न नपाएर राप्तीछेऊका स्थानीय डुबानमा पर्दै आएका छन्।  प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले टेपरी गाउँमा नदी पस्ने खतरा रहेको सूचना आएपछि स्थानीयलाई अन्यत्र लैजाने या डुंगा उपलब्ध गराउने भन्नेबारे छलफल थालेको बताए। धेरैले टेपरी गाउँबासीलाई अन्यत्र सार्न भन्दै आए पनि स्थानीयले नै बस्दै आएको स्थान छोड्न नमानेकाले नदी गाउँमा पसिहाले जनधनको क्षतिबाट बचाउन डुंगा दिनुपर्ने यादवले बताए।

Source:NagarikNews

Posted by Butwalonline on 12:47 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "रातभर जागै बस्छन् राप्तीछेउका बासिन्दा"

Leave a reply