|

डकैती आरोपमा माओवादी लडाकु पक्राउ

कलेन्द्र सेजुवाल, सुर्खेत, असार २७ - हतियार देखाएर सर्वसाधारणको घरमा डकैती गरेको आरोपमा प्रहरीले शनिबार राति दुई माओवादी लडाकुलाई पक्राउ गरेको छ।
पक्राउ परेकामध्ये एकजना बहिर्गमनमा परेका भए पनि उनी लडाकु शिविरमा बस्दै आएका थिए। आरोपितदुईलडाकुसहित अरु दुई पूर्व लडाकुको खोजी भइरहेको प्रहरीले जनाएको छ।माओवादी सेनाको दशरथपुरस्थित छैटौँ डिभिजन मुख्यालयअन्तर्गत पूर्ण-झरना स्मृति ब्रिगेडमा कार्यरत हुम्ला कालिकाका नरेन्द्र रोकाया र बहिर्गमनमा परेका लडाकु हुम्ला श्रीनगरका नरेन्द्र रोकायालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुमाथि जेठ २८ गते राति दशरथपुर- ९, पिटेडाँडास्थित मोतीप्रसाद चपाईँको घरमा लुटपाट गरेको आरोप छ।
जिल्ला प्रहरी कार्यालयका एसपी गोविन्दराम परियारले पक्राउ परेका दुईसहित अन्य चारजनाले चपाईँको घरबाट ५ तोला सुन, साढे ३ तोला चाँदी, ३ थान मोवाइल र १५ हजार नगद लुटेका बताए। उनका अनुसार लुटपाटमा पूर्ण-झरना स्मृति ब्रिगेडअन्तर्गत ७ नम्बर बटालियनमा कार्यरत लडाकु जनसागर, घोराही सतबरियामा कार्यरत विकास र अन्य दुई पूर्वलडाकुहरु हुम्ला श्रीनगरका विकास रोकाया र जाजरकोटका नविन संलग्न छन्।
'लुटपाटमा माओवादी लडाकु र पूर्व लडाकुको संलग्नता देखिएको छ,' उनले भने, 'आरोपित सबैलाई पक्राउ गरी डाँका मुद्दाअन्तर्गत आवश्यक कारबाही थालिनेछ।'
आइतबार बिहान डिभिजन सहायक कमाण्डर दुर्गबहादुर चौधरी पक्राउ परेकाबारे बुझ्न आएका र सबै कुरा बताएपछि 'अनुसन्धानमा सहयोग गर्ने' वचन दिएर फर्केका एसपी परियारले बताए।
बहिर्गमनमा परेका लक्ष्मणले अनमिनले अयोग्य ठहर्‍याए पनि आफू शिविरमा बस्दै आएको बताए। दोस्रो चरणको प्रामिणिकरणमा बुवाको मृत्यु भएकोले घर जाँदा बहिर्गनमा परेको उनको भनाइ छ। 'अयोग्य भनिए पनि म शिविरमा बस्दै आएको थिएँ,' उनले भने, 'मैले तलबभत्ता त पाउँथिन, तर खान बस्न समस्या थिएन।' उनले पालैपालो पूर्ण-झरना स्मृति र घोराही-सतबरिया ब्रिगेडको शिविरमा बस्ने गरेको बताए।
पक्राउ परेका लडाकु नरेन्द्रले आमा बिरामी भएपछि कार्यालयमा जानकारी नदिएर घर गएकाले आफूले भत्ता नपाएको बताए। 'मेरो नाममा सरकारले पैसा त दिन्छ,' सुर्खेतका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेलकै सामु उनले भने, 'तर, १५ महिनादेखि मैले एक रुपैयाँ पाएको छैन।' शिविरले खानबस्न भने दिएको उनले बताए।
 राति करिब १२ बजे धनमाल लुटेपछि मुख्यालयस्थित शिविरमा गएको पक्राउ परेका अभियुक्तले बताएका छन्। लुटेको धनमाल भने जनसागर, विकास र अन्य दुईजनाले आफूहरुलाई एक/एक हजार दिएर सबै लगेको उनीहरुको भनाइ छ। लुटपाटमा प्रयोग गरिएको हतियार शिविरको नभई बाहिरबाट ल्याइएको समेत उनीहरुले दावी गरे।
प्रहरीले लडाकु शिविर आसपास क्षेत्रमा पछिल्लो समय डकैतीका साथै अन्य आपराधिक घटना बढेको जनाएको छ। एसपी परियारले असोजयता डकैतीका तीनवटा ठूला र अन्य केही साना घटना भएका बताए। 'हाम्रो अनुसन्धानटोली यी तीनवटै घटनाका दोषीको नजिक पुगिसकेको छ,' एसपी परियारले भने, 'घटनामा जो संलग्न देखिए पनि पक्राउ गरी कारबाही हुन्छ।'
दशरथपुर-३ का पूर्णबहादुर थापाको घरमा डकैती र परिवारका सदस्यमाथि आक्रमण गर्नेको पनि पहिचान भइसकेको उनको भनाइ छ। सैन्य पोशाक लगाएका हतियारधारीले वैशाख ३१ गते मध्यरात थापाको घरबाट २८ हजार नगदसहित तीनवटा मोवाइल र १२ आना सुन लुटेका थिए। उनको घरमा एसएलआरमा कक गर्न खोज्दा घरमा 'नाइन इन्टू नाइन्टिन एमएफसी नाइन्टी नाइन' गोली खसेको थियो।
उनीहरुले दस दिनभित्र १० लाख रुपैयाँ नदिए ज्यान लिने धम्की दिएपछि थापाको परिवार वीरेन्द्रनगरमा विस्थापित भएर बसेको छ। दशरथपुरकै डिलबहादुर रावतको घरमा पनि करिब डेढ लाख बराबर लुटपाट भएको प्रहरी भनाइ छ।
source:nagariknews

Posted by Butwalonline on 7:06 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "डकैती आरोपमा माओवादी लडाकु पक्राउ"

Leave a reply