गोही सार्नेक्रममा एक प्रहरी जवानको मृत्यु
परासी, असार २४- गोहीले आक्रमणको प्रयास गरेपछि नवलपरासीको सशस्त्र प्रहरी वेस क्याम्प गुठीप्रसौनीमा कार्यरत एक सशस्त्र प्रहरी जवानको गाडीबाट लडेर मृत्यु भएको छ। यस घटनामा अर्का एक जवान घाइते भएका छन्।
बिहीबार साँझ गुठीप्रसौनीको गण्डक नहरको छेउमा फेला परेको ५ फिट लामो ६० केजीको गोहीलाई समातेर नारायणी नदीमा छाड्न गाडीमा राखेर लैजाँदै गर्दा गोहीले आक्रमणको प्रयास गरेपछि आत्तिएका सशस्त्र प्रहरी जवान हर्कबहादुर महराको गाडीबाट लडेर मृत्यु भएको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बेलासपुरका सशस्त्र प्रहरी उपरीक्षक कृष्ण थापाले बताए।
डोरीले बाँधेर गाडीमा राखेको गोहीले एक्कासि आक्रमणको प्रयास गरेपछि आत्तिएर हाम फालेका सशस्त्र प्रहरी जवान महरा घाइते भएको र उपचारको क्रममा उनको मृत्यु भएको हो।
बैतडी जिल्ला घर भएका महराको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक थापाले जानकारी दिए। उनीसँगै रहेका घाइते जवानको अवस्था भने सामान्य रहेको सशस्त्र प्रहरीले जनाएको छ।
ठूलो तौल भएको गोहीलाई बेहोस गरी ल्याउनुपर्ने भएपनि सँगै रहेका रेञ्जपोस्टका कर्मचारीले बाँधेर लैजाने सल्लाह दिएका थिए। रासस