|

वैद्य र भट्टराईको दबाबमा दाहाल

काठमाडौं, अषाढ २२ - आन्तरिक विवादका कारण तीन दिनका लागि स्थगित माओवादी केन्द्रीय कमिटी बैठक अनिश्चित भएपछि त्यसको दबाब सबभन्दा बढी अध्यक्ष पुष्पकमल दाहालमाथि परेको छ । पछिल्ला दिनमा उनी दुई उपाध्यक्ष मोहन वैद्य र बाबुराम भट्टराईको चर्को दबाबमा परेका छन् ।
दुवै उपाध्यक्षले अगाडि सारेका विषयमा सहमति जुट्न नसकेका कारण उनले केन्द्रीय कमिटी बैठक बोलाएका छैनन् भने सेना समायोजनबारे पनि निर्णय गर्न सकेका छैनन् । वैद्यले सेना समायोजनका विषयमा पार्टीले यसअघि गरेको निर्णयप्रति गम्भीर असहमति जनाएका र भट्टराईले नयाँ राष्ट्रिय सरकार गठन गर्नुपर्ने धारणा राख्दै आएका छन् । दाहाल नेपाली सेनामातहत महानिर्देशनालय बनाई अघि बढाउने र यही सरकारलाई निरन्तरता दिने पक्षमा देखिन्छन् । तर दुई उपाध्यक्षको भनाइलाई बेवास्ता गरी अघि बढ्ने सक्ने अवस्थामा नरहेकाले उनले 'कुरा मिलाउन' वैद्य र भट्टराईसँग पटक-पटक छलफल गरेका छन् ।
वैद्य र भट्टराई पक्षले एक सय ५९ सांसदको हस्ताक्षर गरी निर्वाचनमा पराजित मन्त्रीलाई फिर्ता गरी समावेशी आधारमा मन्त्री पठाउन ज्ञापनपत्र असार १० गते केन्द्रीय कमिटी बैठकमा बुझाएका थिए । बहुमत सांसदको हस्ताक्षरबाट झस्किएका दाहालले दुवै उपाध्यक्षसँग धेरै चरणमा कुराकानी गरे पनि निष्कर्षमा पुग्न सकेका छैनन् ।
'नेताहरूबीच पटक-पटक छलफल भएका छन्,' वैद्य पक्षधर सचिव सीपी गजुरेलले भने, 'अहिलेसम्म कुनै निष्कर्ष निस्केको छैन ।' दाहालनिकट उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने नेतृत्वबीच अन्तरसंघर्षका विषयमा सकारात्मक छलफल भएको बताए । 'सेना समायोजन र राष्ट्रिय सरकारका विषयमा सकारात्मक छलफल भएका छन्,' उनले भने, 'दुई/तीन दिनमा टुंगिन्छ होला ।'
सेनाअन्तर्गत महानिर्देशनालय बनाउने प्रस्ताव पुनर्विचार गर्नुपर्ने वैद्यको प्रस्ताव दाहालले अस्वीकार गर्दै विशेष समितिबाट लडाकु समायोजनको मापदण्ड, नेतृत्व टुंग्याउन सकिने वैद्यलाई बताइसकेका छन् । 'उहाँ -वैद्य) को आशंका सम्बोधन हुने भएपछि यसमा समस्या हुँदैन,' श्रेष्ठले भने, 'मोडालिटीमात्र स्वीकार गरेको हो, नेतृत्व, मापदण्डलगायत विषयमा निर्णय हुनै बाँकी छ ।'
शान्ति र संविधानका लागि माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार बनाउने भट्टराईको प्रस्तावप्रति दाहाल सकारात्मक रहेको उनीनिकट एक नेताले बताए । 'माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन अध्यक्ष सकारात्मक हुनुहुन्छ,' उनले भने, 'यो सरकारले राजीनामा दिई कांग्रेससहितको सरकार बन्ने छ ।'
'हतियार अलग्याउने' कुराले विशेष समिति अवरुद्ध
सेना समायोजन, पुनःस्थापना तथा रेखदेख विशेष समितिको बैठक अवरुद्ध भइरहेका बेला माओवादी लडाकु प्रमुख नन्दकिशोर पुनले कांग्रेस, एमालेले लडाकुबाट हतियार अलग गर्ने अडान ल्याएपछि प्रक्रिया अघि बढ्न नसकेको बताएका छन् ।उनले विशेष समिति बैठकमा हतियार अलग गर्ने सामान्य छलफल भएको विषयलाई निर्णय भएको भन्दै निर्णय पुस्तिकामा लेखेकाले प्रक्रिया अवरुद्ध भएको बताए ।
 'विशेष समिति बैठकमा कांग्रेस, एमालेका प्रतिनिधिले हतियार अलग गर्ने निर्णय माइन्युटमा लेखेपछि समायोजन प्रक्रिया अवरुद्ध भएको हो,' उनले कान्तिपुरसँग भने, 'त्यो फिर्ता लिएपछि मात्र प्रक्रिया अघि बढ्छ ।' माइन्युटमा लेखे पनि माओवादीका तर्फबाट विशेष समिति सदस्य वर्षमान पुन र जनार्दन शर्माले हस्ताक्षर गर्न अस्वीकार गरेका थिए । पुनले पार्टीको अन्तरसंघर्षले सेना समायोजन प्रक्रियामा ढिलाइ नभएको दाबी गरे ।


Source:Kantipurnews

Posted by Butwalonline on 6:43 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "वैद्य र भट्टराईको दबाबमा दाहाल"

Leave a reply