|

कामकुरो एकातिर, कोइराला अमेरिकातिर

५ असार, काठमाडौँ । तीन महिनाभित्र शान्ति प्रकृया सक्ने र संविधानको पहिलो मस्यौदा सार्वजनिक गर्ने लक्ष्य पुरा गर्ने हो भने यतिखेर शीर्ष नेतृत्व नै दिनरात नभनी काम गर्नुपर्ने हो । तर, ठिक यही बेला नेपाली कांग्रेसका सभापति सुशील कोइराला भने करिब दुईसाता लामो युरोप–अमेरिका घुमफिरमा निस्कन लाग्नुभएको छ ।
दलहरुबीच थप गरिएको समयमा संविधानको एकीकृत मस्यौदा तयार पार्न तथा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न तय गरिएको कार्यतालिकाअनुसार सघन छलफल हुनेपर्ने समयमा कोइराला विदेश भ्रमणमा जाँदा ती प्रक्रिया थप प्रभावित हुने भएका छन् ।
मुलुकको राजनीति अस्थिर बनिरहेका बेला विदेश भ्रमण नजान प्रधानमन्त्री झलनाथ खनाल, एकीकृत माओवादी अध्यक्ष प्रचण्ड र कतिपय कांग्रेस नेताहरुले गरेको आग्रहलाई समेत बेवास्ता गर्दै सभापति कोइरालाले स्वास्थ्य उपचारका लागि भन्दै आधा महिना लामो भ्रमण तय गर्नुभएको हो ।
दलहरुबीचको सहमतिमा तय गरिएका कार्यतालिका अनुसार शान्ति प्रक्रिया र सेना समायोजनका मुद्धामा शीर्ष राजनीतिक तहबाट सहमति जुटाउनु पर्ने छ । माओवादी लडाकूको संख्या, तह लगायतका बिषयमा पनि मुख्य दलवीच सहमति जुटन सकेको छैन । तर शान्ति प्रकृयालाई आफ्नो पहिलो प्राथमिकता कांग्रेसले नै त्यसपछि चासो दिन सकेको छैन् । यसै त धरापमा परेको असार ५ देखि सुरु कार्यतालिका कोइरालाको विदेश भ्रमणले थप प्रभावित हुने भएको छ ।
कोइराला युरोप र अमेरिकामा रहँदा पार्टी निकट संघसंस्थाका विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् । स्रोतका अनुसार न्युयोर्कमा १० दिन बिताएपछि कोइराला स्वीट्जरल्याण्ड र लण्डन भ्रमणमा निस्कने चाँजोपाँजो मिलाइएको छ ।
बेलायतमा तीन दिन बिताउँदा कोइराला पार्टी सम्वद्ध नेपाली जनसम्पर्क समितिले आयोजना गरेको अन्तक्र्रियामा सहभागी हुने बताइएको छ । त्यसपछि कोइराला करिब दुईदिन स्वीट्जरल्याण्डमा घुमफिरमा बिताएर स्वदेश फर्कने कार्यक्रम छ ।
Source:Onlinekhabar

Posted by Butwalonline on 10:48 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कामकुरो एकातिर, कोइराला अमेरिकातिर"

Leave a reply