|

समायोजन 'मोडल'मा माओवादी-कांग्रेस अडान

काठमाडौं, अषाढ ५ - संविधानसभाको म्याद थपपछि बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक पनि निर्णयविहीन टुंगिएको छ ।
कांग्रेस सभापति सुशील कोइराला उपचारका लागि अमेरिका जाने भएकाले हतारमा बसेको बैठकमा दलहरुले कुनै विषयमा सहमति गर्न सकेनन् । लडाकु समायोजनका विषयमा भएको छलफलमा माओवादी र कांग्रेसले आफ्ना अडान दोहोर्‍याए ।
'बैठक मुलतः सेना समायोजनमै केन्द्रित भयो,' बैठकपछि कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले संवाददाताहरुसित भने, 'माओवादीले समायोजनको नयाँ मोडल बनाउपर्ने प्रस्ताव गरेको छ, हामीले शान्ति सम्झौताअनुसार नै समायोजन खाका बनाउनुपर्छ भन्यौं ।'
जेठ १४ मा संविधानसभाको म्याद थपपछि तीन दलका नेताहरुको बैठक हुन सकेको थिएन । प्रधानमन्त्री झलनाथ खनालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति कोइरालालाई निवासमै पुगेर बैठक आहृवान गरेका थिए ।
तीन महिनामा शान्ति प्रक्रिया पूरा गर्नैपर्ने दबाबमा रहेका प्रमुख दलहरुले सानो-ठूलो समूह बनाएर औपचारिक/अनौपचारिक छलफल गर्ने सहमति गरेका छन् ।
राजनीतिक गतिरोध कायमै रहेको निष्कर्ष निकालेका तीन दल गतिरोध हटाउन छलफललाई तीब्रता दिने निर्णयमा पुगेको पौडेलले जानकारी दिए ।
बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय मोहन वैद्य र नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति सुशील कोइराला, संसदीय दलका नेता रामचन्द्र पौडेल र रामशरण महत तथा एमाले अध्यक्ष एवं प्रधानमन्त्री झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र महासचिव ईश्वर पोखरेल सहभागी थिए ।
कांग्रेस सभापति कोइराला उपचारका लागि आइतबार नै अमेरिका जाने भएपछि प्रमुख दलको छलफल भने प्रभावित हुने निश्चित छ ।

Source:KantipurNews

Posted by Butwalonline on 11:03 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "समायोजन 'मोडल'मा माओवादी-कांग्रेस अडान"

Leave a reply