संकटमा कपिलवस्तुका उद्योगहरु लोडसेडिङ्ग र कच्चा पदार्थको अभावमा उत्पादन आधा घट्यो
किरणमान बज्राचार्य,कपिलवस्तु , २२ फागुनलोडसेडिङ्गको मार ब्याहोरि रहे कै बेला कच्चा पदार्थको अभाव समेत अभाव पछि कपिलवस्तुका उद्योग व्यवसाय संकटमा पर्दै गएका छन् । चरम लोडसेडिङ्गको मारमा खेपी रहेका जिल्लाको चन्द्रौटा देखि कृष्णनगर सडक खण्डका बिचमा संचालित ठूला उद्योगहरु कच्चा पदार्थको अभाव हुदा धराशायी बन्दै गएका छन् ।
सो क्षेत्रमा रहेको ९ वटा ठूला सीमेन्ट उद्योग, ६ वटा प्लाईवुड उद्योग, महालक्ष्मी सुर्गस मिल तथा २१ बढि क्रेशर उद्योगहरु संकटमा परेका हुन् । लोडसेडिङ्गका कारण दर्शाउदै बुद्ध सिमेन्ट प्रा.लि.ले उत्पादन नै रोकेको छ । यहा संचालित अन्य सिमेन्ट कारखानाहरु पशुपति सिमेन्ट प्रा.लि., विजया सिमेन्ट प्रा.लि. पनि लोडसेडिङका कारण आफ्नो उत्पादन आधा घटाएको बताउछन् । सिमेन्ट बनाउनका लागि आफैंले क्लिंकर उत्पादन गर्दै आएको अर्घाखााची सीमेन्ट उद्योग प्रालि पनि कच्चा पदार्थको अभावमा उत्पादन बन्द हुने अवस्थामा छ । उद्योगले अर्घाखाँची जिल्लाको नरपानी गाविसमा रहेको चुन डुङ्गा खानीबाट कच्चा पदार्थ ल्याउने गरेको थियो । तर बातावरणीय प्रभावको कारण देखाउदै खानि बन्द भएपछि कच्च पदार्थको अभावमा उक्त सीमेन्ट प्रा.लि. संकटग्रस्त अवस्थामा रहेको संचालकहरु बताउछन् ।
“हामीले अर्घाखांचीबाट खरीढुंगाहरु ल्याउने गरेकोमा हाल स्थानीयवासीको अवरोधका कारण खानी संचालन रोकिएको छ । जसका कारण हामिले क्लिङ्कर उत्पादन गर्न सकेका छैनौ । यो मात्र नभएर दैनिक हुने लोडसेडिङ्गले सवै उद्योगीहरुलाई थप मर्कामा पारेको छ । राज्यले यस सम्स्या प्रति खासै चासो दिएको छैन ।” उद्योगका महाप्रबन्धक राजेन्द्र बहादुर सिंहले भन्नुभयो । उहााका अनुसार उद्योग जति दिनसम्म सक्छौं चलाउंछौ, हैन भने बन्दको बिकल्पै नरहेको वताउनु भयो । सिमेण्ट तथा क्लिंकर उत्पादन गर्ने सामग्रीहरु अहिले अभाव हुंदै जान थालेको छ, क्षमता अनुसार उत्पादन निकाल्न नसकेको सिंहको गुनासो छ ।
जिल्लामा संचालित अर्को ठुलो उद्योगमा रुपमा लिईने पशुपति सिमेन्ट प्रालिका प्रबन्ध निर्देशक नन्दकिशोर शर्माका अनुसार लोडसेडिङका कारण उत्पादनमा ५० प्रतिशत कटौती गरिएको वताउनुभयो । दैनिक ६ सय टन उत्पादन हुने क्षमता भए पनि अहिले कटौती भएर २ सय देखि २ सय ५० टन मात्र उत्पादन भइरहेको शर्माले जानकारी दिनुभयो ।
त्यस्तै बिजया सिमेन्टका संचलक बिजय केडियाका अनुसार, दैनिक जस्तो लोडसेडिङ्को कारण समस्या छ आवश्यकता अनुसार बस्तु उत्पादन गर्न सकिएको छैन । सरकारले औद्योगिक नीति बनाउन नसक्दा समस्या आएको केडिया बताउनुहुन्छ । लोडसेडिङ्कै कारण यस क्षेत्रका उद्योगहरुले भनेजति सामग्री उत्पादन गर्न सकिइरहेका छैनन्, कृष्णनगर उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष बिजय कनौडिया बताउनुहुन्छ । उहांका अनुसार “नदि जन्य पदार्थको निकासी बन्द हुदा यहा संचालनमा आएका २६ वटा क्रेसर उद्योग समेत मारमा परेका छन ।
नदीजन्य पदार्थ भारत निकासी बन्दका कारण यस क्षेत्रका क्रेसर उद्योग एक बर्ष देखि बन्द रहेका छन् भने केहि उद्योगले स्थान परिवर्तन समेत गरेका छन् । “जसका कारणले उद्योगहरुले दैनिक १० करोड बढी घाटा ब्यहोर्नु परेको छ” कनौडियाले वताउनु भयो ।”
जिल्लाको चन्द्रौटा–कृष्णनगर क्षेत्रलाई औद्योगिक करिडोरको रुपमा विकास गर्नु पर्छ भन्दै पटक–पटक अर्थ मन्त्रालय तथा सम्बन्धित निकायमा उद्योगी ब्यापारीले माग गरेको लामो समय बितिसक्दा समेत कसैको ध्यान नगएको अध्यक्ष कनौडिया को आरोप छ । दर्जनौ उद्योग र अर्बौ लगानी गरिएको उक्त क्षेत्रलाई औद्योगिक क्षेत्र घोषित गरि आवश्यक सुरक्षा तथा लोडसेडिङ मुक्त गरिनुपर्ने उद्योगीहरुको माग छ । हाल कपिलवस्तुको सो क्षेत्रमा ठूला साना गरि ४७ वटा उद्योग छन् ।