फोहोर ब्यवस्थापनमा सहयोग जरुरी
रुपन्देही,१९ फागुन । नगरबासिहरुको साथ रहेकमा बुटवलको फोहोर सजिलै ब्यवस्थापन गर्न सकनिे बुटवल नगरपालिकाले जनाएको छ ।
नगरपालिकामा शनिबार भएको फोहार मैला ब्यवस्थापन र वातावरण सरसफाई बिषयक समिक्षा कार्यक्रममा नगरपालिकाका अधिकृतहरुले यस्तो कुरा बताएका हुन । सो अवसरमा बोल्दै बुटवल नगरपालिकाका बरिष्ठ अधिकृत भुवा प्रसाद लुईटेलले घरको फोहोर संकलन गरेर मात्रै राखिदिए पनि बुटवलको फोहोर सहजरुपमा ब्यवस्थापन हुने बताउनुभयो । उहाँले नगरपालिकाले विद्यार्थी समुदाय र निजि संस्थाहरुसंग मिलेर सरसफाई अगाडि बढाएको बताउदै फोहारसंग खेलवाड नगर्न आग्रह गर्नुभयो । यस्तै सामाजिक शाखा अधिकृत दामोदर ज्ञवालीले बुटवलमा दैनिक ४५ टन फोहोर उत्पादन भएको बताउदै उत्पादन घटाउन जरुरी रहेको बताउनुभयो । अर्का अधिृकत ठगिश्वर पोखरेलले जेविक र अजैविक फोहोर मात्रै छुट्याएमा पनि बुटवल सफा राख्न सकिने बताउनुभयो । कार्यक्रममा बुटवल नगरका विभिन्न टोल विकासका प्रतिनिधि,ग्रिन भोलियनटियर र सरसफाईमा क्रियाशिल संस्थाहरुको सहभागिता थियो । समिक्षा पछि बुटवलको रामनगर स्थित फोहोर प्रशोधन केन्द्र,उपल्लो मझुवा सुद्यदानगर स्थित टोल विकासको अवलोकन समेत गराईएको थियो ।