दलमा सहभागिता नभएको गुनासो
रुपन्देही,१९ फागुन । मुलुकमा राजनितिक परिर्वतन भएपनि दलहरुमा दलितको प्रतिनिधित्व सन्तोषजनक नभएको एक कार्यक्रममा गुनासो गरिएको छ । दलितहरुलाई सहभागिताको लागि मात्रै दल र भातृसंस्थामा समावेश गरिएको भन्दै त्यसमा पनि महिलाको सहभामगिता निकै न्यून भएको उनीहरुको भनाई छ । दलित महिला संघ र दवाव समुह रुपन्देहीको संयुक्त आयोजनामा शनिबार बुटवलमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन ।
कार्यक्रममा बोल्दै दलित वर्ग उत्थान जिल्ला समन्वय समिति रुपन्देहीका उपाध्यक्ष पदम बहादुर विश्वकर्माले दलितहरु नेतृत्वमा नपुुगेसम्म निति निर्माण गर्न नसकिने भएकाले दलहरुमा दलितहरुको सहभागिता जरुरी रहेकोमा जोड दिनुभयो । उहाँले अझै पनि जातीय छुवाछुत कायम नै रहनु विडम्बना भएको बताउदै यसलाई चिर्न पनि नेतृत्वमा पुग्न आवश्यक भएको बताउनुभयो । कार्यक्रममा नेकपा एमाले रुपन्देहीका सचिवलाय सदस्य विमला पन्थी, अखिल नेपाल क्रान्तिकारी महिला संघ अवद्य संयोजक लक्ष्मी कोइराला,अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघका नरेन्द्र दर्जी, एनेकपा माओबादीका प्रेम गुरुङ,ओरेक नेपाल क्षेत्रिय कार्यालय बुटवलका संयोजक इन्दिरा आचार्य,जातिय समता समाजका जित बहादुर विक,मुक्ति समाजका इन्दिरा सापकोटा,साझा पहल परियोजना रुपन्देही संयोजक इन्द्र विश्वकर्मा,एकल महिला समुहका राधिका श्रेष्ठ लगायतले बोल्दै हरेक क्षेत्रमा दलित महिलाको सहभागिता हुनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रम दलित महिला संघ रुपन्देहीका मनु खड्काको अध्यक्षता तथा दवाव समुहका पुष्पा विकको संचालनमा सम्पन्न भएको थियो ।