|

आदिवासी जनजाति महासंघ कतार च्याप्टरको प्रशिक्षण सम्पन्न

प्रेम लामा÷दोहा– नेपाल आदिवासी जनजाति महासंघका केन्द्रिय महासचिव आङ्गकाजी शेर्पा गत साता दोहा ट्रान्जिटमा रहेको अवसर पारेर कतारमा एक अन्तर्कृयात्मक प्रशिक्षण आयोजना गरिएको छ ।
नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतार च्याप्टरले आयोजना गरेको सो प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै शेर्पाले आदिवासी जनजातिवारे विस्तृत चर्चा र विवरण प्रस्तुत गरे । प्रमुख अतिथि शेर्पाले नेपालका जनजातिहरूमा कुन कुन जातिहरू पर्छन् भन्ने विवरण, जनजातिको परिभाषा, आदिवासीको परिभाषा, आदिवासी जनजातिबारे अन्तर्राष्ट्रिय श्रम संगठनको धारणा, पहिचानसहितको संघियता, आत्मनिर्णयको अधिकार, देशमा संविधान नबन्नु कारण र दलहरुले पहिचानसहितको संघियतामा जाँदा देश टुक्रन्छ भनेर पहिचान सहितको संघियतामा जान नखोज्नुका कारणहरू लगायतका विषयहरूमा सम्बोधन गरे । देशमा जातिय, लैङ्गिक, आर्थिक, बर्गिय विभेदको वारेमा पनि उनले जानकारी गराए । ‘जबसम्म राज्यमा यि चार विभेदको अन्त्य हुँदैन र सवै जातजातिहरुलाई समान अधिकार दिईदैन तवसम्म संघर्ष निरन्तर रहने छ’ शेर्पाले भने ।

तीन राजनैतिक पार्टीले पहिचान सहितको संघियता नचाहेका कारणले गर्दा देशमा संघियता नआएको उनको भनाइ थियो । ‘नेपाली काँग्रेस, एमालेले पहिचान सहितको संघियतामा गए देश टुक्रिन्छ भन्ने सोचले गर्दा र माओवादीको ढुलमुले प्रवृतिले गर्दा जनजातिहरुको पहिचान सहितको संघियता आएन’ उनले भने– ‘देशमा संघीयता नआउनुको कारण ३ दल हुन् ।’ पहिचान सहितको संघियताका लागि संघर्ष जारी रहने उनको स्पष्टोक्ति थियो । देशलाई संघियतामा लाँदैमा देश नटुक्रने बताउँदै उनले विश्वमा हाल ३१ राष्ट्रमा संघिय गणराज्य रहेको उदाहरण दिए ।

महासंघका अध्यक्ष विनेश तामाङको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा महासंघआवद्व कतारस्थित विभिन्न मातृसंस्थाहरुको बारेमा संस्थाका अध्यक्षहरुले शेर्पालाई जानकारी गराएका थिए ।
तमु समाजका अध्यक्ष विमल तमु, किराँत याक्थुङ्ग चुम्लुङ्गका अध्यक्ष लोकेन्द्र तुम्रोक, मगर संघका अध्यक्ष भिम तरामु मगर, नेपाल प्रवासी तामाङ समाजका अध्यक्ष शंखलाल तामाङ, थारु कल्याणकरिणी सभा कतार च्याप्टरका अध्यक्ष सत्यनारायण चौधरी, सुनुवार सेवा समाजका अध्यक्ष राम बहादुर सुनुवार, दराई समाजका प्रतिनिधि दामोराज दराई, प्रवासी भूजेल सेवा समाजका महासचिव शिव कुमार भूजेल, नेवा पूचका कार्यवाहक अध्यक्ष किशोर महर्जन, माझी सेवा समाजका अध्यक्ष रामचन्द्र माझी, किराँत राई यायोक्खा कतारका अध्यक्ष धिराज चाम्लिङ्ग राईले आ–आफ्ना संस्थाले स्थापना कालदेखि र हालसम्म गरेका गतिविधिहरु कार्यसमिति सहित शर्पालाई परिचय गराएका थिए ।

महासंघका संस्थापक अध्यक्ष अमृत गुरुङ्गले प्रशिक्षण निकै राम्रो र उपलब्धीमुलक रहेको बताए । सभापति विनेश तामाङले कृतज्ञता मन्तब्य राख्दै भविश्यमा विश्वभर छरिएर रहेका आदिवासी जनजातिहरुलाई एकजुट गराउन पहल गरिने बताए । सो अवसरमा महासंघका प्रथम उपाध्यक्ष प्रकाश आलेमगरले स्वागत मन्तब्य राखे भने कार्यक्रम महासचिव देवराज राईले सञ्चालन गरे । सो अवसरमा महासंघका सल्लाहकार विल बहादुर गुरुङ्ग र चन्द्रशेर राई लगायत विभिन्न मातृसंस्थाका पदाधिकारीहरूको ब्यापक सहभागिता थियो ।

Posted by Butwalonline on 3:54 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आदिवासी जनजाति महासंघ कतार च्याप्टरको प्रशिक्षण सम्पन्न"

Leave a reply