सरकारलाई खवरदारी, आन्दोलनमा ऐक्यबद्वता
दोहा– नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय जनमोर्चा लगायत ९ दलले मुलुकमा संयुक्तरुपमा जारी राखेको आन्दोलनप्रति कतारमा क्रियाशिल ३ वटा बैचारिक संस्थाले एक संयुक्त प्रेस विज्ञप्तीमार्फत समर्थन र ऐक्यवद्धता जनाएका छन् ।
कतारबाट नेपाल लोकतान्त्रिक मञ्च, नेपाली जनसम्पर्क समिति र कतार नेपाली एकता समाजले आन्दोलनमा समर्थन र ऐक्यवद्धता जनाएका हुन् । ९ फेब्रुअरीमा संयुक्तरुपमा मञ्चका अध्यक्ष दिल किरण खजुम, जनसम्पर्कका सभापति विमल सुवेदी र एकता समाजका कार्यवाहक अध्यक्ष टुकनाथ शर्माले सो विज्ञप्ति जारी गरेका हुन् ।
‘मुलुकमा गहिरिँदै गएको राजनीतिक गतिरोधको अन्त्य गर्दै राष्ट्रिय सहमतिको सरकार निर्माण गरी संविधानसभाको निर्वाचनकोे सुनिश्चिता गर्न र प्राप्त उपलव्धीहरुलाई संस्थागत गर्न एवं एनेकपा (माओवादी) को सर्वसत्तावादको विरुद्वमा नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय जनमोर्चा नेपाल लगायत ९ दलले शुरु गरेको देश व्यापी संयुक्त जनसभा सम्पन्न भइसकेको छ’ विज्ञप्तिमा भनिएको छ– ‘उल्लेख्यरुपमा आन्दोलनमा जनताबाट पाएको माया र नेपाली जनताको सार्वभौम अधिकार सम्पन्न संविधान निर्माणका लागि राष्ट्रिय सहमतीको सरकारको आजको प्रमुख आवश्यकता हो नेपाली जनताको आन्दोलनप्रति हामी ऐक्यवद्धता व्यक्त गर्दछौं ।’ प्रवासवाट समर्थन र ऐक्यवद्धता जनाउँदै विज्ञप्तिमा दोस्रो चरणको आन्दोलनलाई सफल वनाउनको लागि आन्दोलनमा सरिक हुन अपिल पनि गरिएको छ ।
मुलुकको चरम राजनीतिक संकटको पृष्ठभुमिमा ‘प्रधानमन्त्री स्वयम्ले राष्ट्रियता भन्दा जनवाद ठुलो भनेर गैर्जिम्मेवार अभिव्यक्ति दिँदै हिँडेको’ मा कतारबाट चित्त दुखाइएको छ । ‘वर्तमान काम चलाउ सरकारका जनविरोधी, राष्ट्र विरोधी, तानाशाही एवं सर्वसत्तावादी क्रियाकलापहरु तत्काल बन्द गर्न हामी जोडदार माग गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा एनेकपा माओवादी पार्टीको कडा शब्दमा आलोचना गरिएको छ । ‘कथित जनयुद्दको नाममा सदियौंदेखि कायम रहेको समतामुखी समाजको संरचनालाई बिथोल्दै हजारौं नेपाली जनताको रगतमा रंगिएको एनेकपा माओवादी १२ वुंदे सहमति हुँदै वृहत शान्ती सम्झौता मार्फत खुला राजनीतिमा अवतरण भएता पनि यसको चरित्र अहिले पनि हिंसात्मक तथा देशलाई विलखवन्दमा पारेर मुलुकलाई केन्द्रिकृत सर्वसत्तावादभित्र जकड्याउँने सोचबाट ग्रसित छ’ विज्ञप्तिमा कटाक्ष छ– ‘एनेकपा माओवादी तथा कथित गणतान्त्रिक गठवन्धन नामकरण गरिएका दलहरु सम्मिलित अलोकतान्त्रिक, अवैधानिक सरकारका नायक बाबुराम भट्टराईको सरकारले आफ्नो नालायकीपन त देखाइरहेकै छ, सबैभन्दा चिन्ताको विषय देशलाई विश्व मानचित्रबाट गायब बनाउने खेल खेलिरहेको छ भन्ने कुरा स्वयं उसको हालै सम्पन्न ‘कुम्भ’ महाधिवेशनबाट थप प्रमाणित भएको छ ।’ राष्ट्रियताको सन्दर्भमा जनमत संग्रहको कुरा गरेर ‘लेन्डुप दोर्जेको जस्तो देशलाई सिक्कीमीकरण गर्ने र देशको राष्ट्रियतालाई लिलाम गर्न खोज्ने एनेकपा माओवादीको कर्तुत’ रहेको भन्दै त्यसको विज्ञप्तिमा भत्र्सना गरिएको छ ।
‘वर्तमान नालायक सरकारका खलपात्र बाबुराम भट्टराईले नैतिक अधिकार समेत गुमाएको अवस्थामा देश र लोकतन्त्रको लागि मार्ग प्रशस्त गर्दै वहिर्गमनको बाटो समात्नुको सट्टा द्धन्दकालमा हजारौं नेपाली जनताको हत्याको मुद्दा खेप्नुपर्ने डरले सत्तामा लेपास्सिएर बसेका छन् । देशमा दण्डहिनतालाई प्रशय दिंदै सिंहदरबार र बालुवाटारलाई अभियुक्त बस्ने सेल्टर हाउसमा रुपान्तरण गरी रहँदा नेपाली जनता टुलुटुलु हेरेर बस्न सक्दैन’ सरकारको आलोचना र आन्दोलनप्रति समर्थनमा भनिएको छ– ‘यस्तो भयावह परिस्थितीमा वार्ताका सम्पूर्ण सम्भावनाहरुलाई बन्द गराएको बाबुराम सरकारको वहिर्गमनको लागि लोकतन्त्र, राष्ट्रियता, स्वाधीनता र जनताको सार्वभौमिकता जोगाउन नेपाली जनता सडकमा ओर्लिएका हुन् ।’ माओवादीले वहालवाला प्रधान न्यायधीशलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अघि सारेर न्यायालयलाई पनि प्रभावित गर्न खोजेकोमा कतारवाट खवरदारी गरिएको छ । यसअघि २ फेब्रुअरीमा पनि उनीहरूले एक प्रेश विज्ञप्तिमार्फत सरकारलाई खवरदारी र आन्दोलनमा ऐक्यबद्वता जनाएका थिए ।