खेलकुदमा आपसी साझेदारीका लागि अल अरवी क्लवसंग सम्झौता
दोहा– खेलकुदमा आपसी साझेदारीका लागि नेपाली समुदाय र अल अरवी क्लवविच हालै एक सम्झौता भएको छ ।
नेपाली समुदायका अगुवा सागर नेपालको पहलमा भएको सो सम्झौता अनुसार नेपालले अल अरवीलाई खेल दर्शक÷समर्थक उपलब्ध गराउने छ भने नेपाली समुदायले खेलकुद विकासका लागि २० हजार कतारी रियाल प्राप्त गर्नेछ । पहिलो पार्टीकारुपमा अल अरवी क्लवका तर्फबाट महासचिव डा. अहमद ए अल इमादी र दोश्रो पार्टीकारुपमा नेपाली समुदायका तर्फबाट गैर आवासीय नेपाली संघ कतारका अध्यक्ष अमृत गुरुङले सो सम्झौतामा हस्ताक्षर गरेका छन् ।
४ बुँदे सो सम्झौताको पहिलो बुँदामा नेपाली समुदायले अल अरवी क्लवको फुटवल र अन्य टिमलाई उनीहरूको खेलका अवसरमा समर्थन गर्ने उल्लेख गरिएको छ । दोश्रो बुँदामा अल अरवी क्लवद्वारा नेपाली समुदायलाई २० हजार कतारी रियाल उपलब्ध गराउने उल्लेख छ । नेपाली समुदायले अल अरवी क्लवलाई पुर्व जानकारी गराएर स्विकृति लिएपछि कुनै एक दिन क्लवको हल वा मैदानमा खेल गतिविधी आयोजना गर्न सक्ने प्रावधान तेश्रो बुँदामा उल्लेख छ भने चौथो बुँदामा अल अरवी क्लवले नेपाली समुदायलाई केहि मायाको चिनोहरू र खेलजन्य उपहारहरू प्रदान गर्ने उल्लेख छ । अगुवाद्वय नेपाल र गुरुङले सो सम्झौतालाई शुरुवाती उपलब्धीका रुपमा चर्चा गर्दै नेपालीको पहिचान विस्तार हुने विश्वास ब्यक्त गरेका छन् ।
खेलाडीको मनोबल बढाउनका लागि आउने हरेक नेपाली दर्शकलाई अल अरवीले निशुल्क टिकट उपलब्ध गराउने गुरुङले जनाएका छन् । अल अरवी क्लवमै विभिन्न मितिमा हुने खेलहरूमा सहभागिताका लागि उनले अपिल गरेका छन् । १९ फरवरीमा (दिनको ४ः४५ बजे) अल अरवी र साहेलियाविच, २२ फरवरीमा (दिनको ४ः४५ बजे) अल अरवी र अल जैसविच, ४ मार्चमा (साँझ ८ बजे) अल अरवी र उमसलालविच तथा ३० मार्चमा (साँझ ८ः१५ बजे) अल अरवी र रैयानविच हुने खेलका लागि नेपालीजनलाई आमन्त्रण गरिएको गुरुङले जानकारी दिए ।