|

स्पोन्सरसिप नियम हटाउने समयसिमा तोकः एचआरडब्लु

दिपक पौडेल ,दोहा– विश्वको एक अगुवा मानव अधिकारवादी संस्थाले कतारलाई विदेशी कामदारहरू सम्बन्धी स्पोन्सरसिप रूल (प्रायोजन कानुन) र एक्जिट परमिट (बर्हिगमन अनुमति पत्र) हटाउने समयसिमा तोक्न पुनः आग्रह गरेको छ । अमेरिकाको न्युयोर्कमा मुख्यालय भएको ‘ह्युमन राइट्स वाच’ (एचआरडब्लु)ले गत विहिबार, ७ फेब्रुअरीमा दोहामा एक पत्रकार सम्मेलनको आयोजना गरी कतार सरकारलाई सो आग्रह गरेको हो ।

सन् २०२२ मा प्रतिष्ठित विश्वकपको आयोजनाको तयारी गरिरहेको कतारले कामदारका हक अधिकार सुनिश्चित तथा संरक्षण गर्न अन्तर्राष्ट्रिय मापदण्ड पछ्याउनैपर्ने एचआरडब्लुले बताएको छ । ‘हामीले कतारी निकायलाई माग्ने कुरा यहि हो कि कतारले स्पोन्सरसिप रूल र एक्जिट परमिट हटाउने प्रतिबद्वता अनुरुप अव समयसिमा तोक्नु आवश्यक छ’ एचआरडब्लुका बरिष्ठ अघिकारीहरूले पत्रकार सम्मेलनमा भने । ‘लाखौं विदेशी कामदार रहेकोले रातभरमै यो परिवर्तन गर्न सम्भव छैन भन्ने हामीलाई थाहा छ तर स्पोन्सरसिप रूल र एक्जिट परमिट हटाउने प्रतिबद्वता अनुरुप अव समयसिमा तोक्नु जरुरी छ’ युरोपका लागि निर्देशक तथा संगठनमा सहायक कार्यकारी निर्देशक जान इगेलण्डले भने – ‘हामी यथासक्य चाँडो यो ब्यवहारिकरुपमा सम्भव भएको हेर्न चाहन्छौं ।’ एचआरडब्लुले गत बर्ष जुनको दोश्रो साता पनि कतारमा एक पत्रकार सम्मेलन गरी सोही आग्रह गरेको थियो । गत बर्षजस्तै यसपाली पनि बरिष्ठ कतारी अधिकारीलाई भेटेर सो आग्रह गरेको पनि एचआरडब्लुले बताएको छ ।

कतारले प्रतिबद्वता भने देखाइसकेको एचआरडब्लुको भनाई रहँदै आएको छ । कतारमा आफुहरूलाई कहिल्यै बन्देज नलगाइएको र एचआरडब्लुसंग काम गर्ने इच्छा कतारले देखाएको अधिकारीहरूले बताए । मानव अधिकारसम्बन्धि सो पत्रकार सम्मेलनका लागि कतारी निकायले कुनै पनि अवरोध नगरेको एचआरडब्लुका मध्यपुर्व सल्लाहकार निकोलस मक्घिहानले बताए । हरेक पटक कतार भ्रमणमा आउँदा विदेश मन्त्रालयमा जानकारी गराउने गरेको र यसपाली पनि गराएको उनले जनाए । राम्रा कानुन शशक्त बनाउन र नराम्रा कानुन फेर्न एचआरडब्लुले गर्ने आग्रहलाई कतारमा सकारात्मक लिने गरिएको उनले बताए । ‘१९ औं शताब्दीको मानवअधिकार स्थिति बनाएर २१ औं शताब्दीको प्रतियोगिता आयोजना गर्ने आशा राख्न सकिँदैन’ कतारको विश्वकप आयोजनाको सर्वोच्च कमिटीसंग कुराकानी गरेको जानकारी दिँदै उनले भने– ‘खुल्ला र अग्रगामी छलफल भयो, हामी उत्साहित छौं ।’

पत्रकार सम्मेलनमा एचआरडब्लुले मानव अधिकारस्थित वारेको वार्षिक प्रतिवेदन पनि सार्वजनिक गरेको छ । सो प्रतिवेदनमा कतारसम्बन्धि पनि एक च्याप्टर रहेको छ । गत बर्ष पनि एचआरडब्लुले ‘विल्डिङ अ बेटर वल्र्ड कपः प्रोटेक्टिङ माइग्रेन्ट वर्कर्स इन कतार अहेड अफ फिफा २०२२’ (विश्वकपको अझ राम्रो आयोजनाः फिफा २०२२ अगाडि कतारमा आप्रवासी कामदारको सुरक्षा) शिर्षकको प्रतिवेदन सार्वजनिक गरेको थियो । मक्घिहान र उनको टोलीले गत बर्ष राष्ट्रिय मानव अधिकार समिति र विदेश मन्त्रालयसंग छलफल गरेका थिए । उनीहरूले केहि साता लगाएर औद्योगिक क्षेत्रका श्रमिक क्याम्पहरूका ७६ जना कामदारहरू कुराकानी पनि गरेका थिए ।

कतार र फिफाका सामु अव कतारका श्रमिकका अधिकारहरूको अवस्थालाई विश्वब्यापी मापदण्डसम्म पु¥याउनु बाहेक अन्य विकल्प नरेहको एचआरडब्लुको विश्लेषण छ । एचआरडब्लुको रिपोर्टमा कामदारहरूमाथि भएका दुब्र्यवहारका घटनालाई पनि विश्लेषण गरिएको छ । एचआरडब्लुले रिपार्टका लागि दर्जनौं निर्माण मजदुर (अधिकांस नेपाली)संग सोधपुछ तथा अन्तर्वार्ता गरेको छ । सरकारी अधिकारीहरू, रोजगारवालाहरू, कन्ट्रयाक्टिङ कम्पनीहरू, मेनपावर एजेन्सीहरू, श्रम निर्यातक राष्ट्रका कुटनितिज्ञ तथा कामदारका अधिकारसम्बन्धि अभियन्ताहरूसंगका बैठक, संवाद तथा पत्रहरू पनि सो प्रतिवेदनमा समावेश छन् ।

रोजगारीमा आउनका लागि चर्को शुल्क, स्पोन्सरबाट पासपोर्ट जफत, असुरक्षित कामको वातावरण लगायतका विषयमा एचआरडब्लुले आवाज उठाएको छ । समयमा तलव नपाउने, तलव कम्ती पाउने, अवाञ्छित तलव कटौती, क्याम्पमा फोहोर र असुरक्षा लगायतका विषयमा पनि प्रतिबेदनमा विस्तृत चर्चा गरिएको छ । जति बर्ष सेवा गरेपनि अर्को राम्रो काम पाएको खण्डमा स्पोन्सरको अनुमति विना जान नपाउने नियम आवश्यकताभन्दा निकै बढि कडा रहेको एचआरडब्लुको विष्लेषण छ । फिफा २०२२ को तयारीमा रहेको कतारमा रंगशाला र भौतिक पुर्वाधार निर्माणका लागि अवको दशकमा १० लाखसम्म कामदार आवश्यक पर्नसक्ने प्रक्षेपणका साथ एचआरडब्लुले कामदारका हकहित सुनिश्चित गर्दै अन्तर्राष्ट्रिय मापदण्ड अवलम्बन गर्न ध्यानाकर्षण गराएको हो । कन्ट्रयाक्टिङ कम्पनीहरू र सरोकारवालाहरूलाई श्रमिक अधिकारको सम्मान गर्दै अन्तर्राष्ट्रिय मान्यता आत्मसात गर्न प्रतिवेदनमा आवाज बुलन्द गरिएको छ ।

Posted by Butwalonline on 4:02 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "स्पोन्सरसिप नियम हटाउने समयसिमा तोकः एचआरडब्लु"

Leave a reply