नेपाली समाज यूएइको हस्तान्तरण कार्यक्रम सम्पन्न
१६ फेब्रुअरी २०१३ ( उत्तम अधिकारी ) - यूएइ , नेपाली समाज यूएइको बिघटित कार्य समितिले दुबइको याक एण्ड एती रेस्टुरेन्टमा हिजो १५ फेब्रुअरी २०१३, शुक्रबारका दिन एक कार्यक्रमको आयोजना गरि नेपाली समाज यूएइ सँग सम्बन्धित सम्पुर्ण सम्पत्ति तथा दस्ताबेजहरू नव गठित तदर्थ समितिलाई हस्तान्तरण गरेको छ । बिघटित कार्य समितिका केही पदाधिकारी तथा सदस्यहरू , नव निर्वाचित तदर्थ समितिका सदस्यहरू , समाजका स्थापना काल देखिकै सक्रिय केही समाजसेवीहरू लगायतको उपस्थितिमा समाजलाई बिधिवत रुपमा तदर्थ समितिको जिम्मा लगाइएको हो ।
समाजका निबर्तमान अध्यक्ष कृष्ण बहादुर ढकालको अध्यक्षतामा निबर्तमान सचिब उमाकान्त पाण्डेले सन्चालन गरेका उक्त कार्यक्रममा समाजका सँस्थापक सदस्य शारदा प्रसाद भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाली समाज यूएइका तदर्थ समितिका संयोजक राजु गुरुङ, समाजका पूर्व अध्यक्ष यम तमु , समाजका निबर्तमान परिषद अध्यक्ष तथा बर्तमान तदर्थ समिति सदस्य तुलसी तामाङ्, महिला समिति यूएइकी अध्यक्ष राधा ढकाल, समाजका सँस्थापक सदस्य शारदा प्रसाद भट्टराई, निर्वाचन समितिका संयोजक गोपाल कंडेल, समाजसेवी छत्र लामा लगायतले मन्तब्य प्रस्तुत गरेका थिए । आफ्ना मन्तब्यका क्रममा अधिकांश बक्ताहरूले नेपाली समाज यूएइ सम्पुर्ण यूएइवासी नेपालीहरूको पहिलो संस्था भएकोले यसको साख र गरिमा जोगाउन सबै सचेत हुनु पर्ने भन्दै साझा संगठनको अबधारणालाई पुस्टी गर्दै आगामी दिनमा समाजलाई कसरी अझ प्रभावकारी ढंगबाट अघि बढाउन सकिन्छ त्यस बारे सबैको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए । नेपाली राजदुतावास यूएइ सँग आबस्यक समन्वय र सहकार्य गर्दै यस प्रवासमा स्थापित अधिकतम नेपाली संघ संस्थाहरूलाई समाजमा आबद्ध गराई यूएइमा रहेका सम्पुर्ण नेपालीहरू माझ समाजको निस्पक्ष र सहज पहुँचका लागि उचित र सर्वमान्य नेत्रित्व चयनको अभिभारा बर्तमान तदर्थ समितिको काँधमा रहेको र शो कार्यको लागि अग्रिम शुभकामना दिंदै कार्यक्रमका बक्ताहरूले यस कार्यको लागि आबस्यक सहयोग उपलब्ध गराउन आफूहरू तयार रहेको प्रतिबद्धता ब्यक्त गरेका थिए ।
तदर्थ समितिका संयोजक राजु गुरुङले आफूहरू सम्पुर्ण संघ संस्थाहरूसँग हातेमालो गर्दै अघि बढ्ने र सुम्पीइएको जिम्मेवारी पूरा गर्न आफूहरू तदारुकताका सथ् लागि पर्ने भन्दै त्यसका नीम्ति निबर्तमान कार्यसमितीका पदाधिकारी तथा सदस्यहरू, संघ संस्थाहरू तथा सम्पुर्ण समाजसेवीहरूको सल्लाह, सुझाब तथा सहयोगको अपेक्षा गरिएको बातए । निर्वाचन संयोजक गोपाल कंडेलले दुई दशक लामो ईतिहास बोकेको समाजको निर्वाचनको जिम्मेवारी सुम्पेकोमा सबैलाई धन्यबाद् दिंदै आफ्नो जिम्मेवारी निर्वाचन समितिले सफलतापुर्बक सम्पन्न गर्न कुनै कसरत बाँकी नराख्ने बताएका थिए ।
कार्यक्रममा उपस्थित सबैका सामु समाजको सम्पत्तिको रुपमा रहेको निकै पुरानो मोडेलको लामो समय देखि प्रयोग नगरी थन्क्याइ राखिएको कम्प्युटर, प्रिन्टर, माइन्युटिङ बुकहरू, समाजको लोगो अंकित छापहरू तथा अन्य दस्ताबेजहरू तदर्थ समितिलाई सुम्पीइएको थियो । आर्थिक हिसाब बुझ्न केही कठिन भएको भन्दै तदर्थ समिति र बिघटित कार्य समितिका सदस्यहरू बिच उक्त बिषयमा केहिबेर बहस भएको थियो । तदर्थ समितिका सदस्यहरूलाई स्वागत स्वरुप खादा ओढाएर सुरुवात गरिएको कार्यक्रममा बिघटित कार्य समितिका पदाधिकरी तथा सदस्यहरू, क्षेत्रिय समितिका प्रमुखहरू तथा समाजलाई सधैभरी सहयोग गरे बापत भनि केही समाजसेवीहरूलाई सम्मान पत्र समेत प्रदान गरिएको थियो । तदर्थ समितिलाई बधाई तथा शुभकामना दिंदै निवर्तमान अध्यक्ष कृष्ण बहादुर ढकालले आफ्नो कार्यकालमा सक्रिय रुपमा साथ दिने सबैमा धन्यबाद प्रकट गर्दै आगामी दिनमा समाजको अझ धेरै प्रगतिको लागि शुभकामना ब्यक्त गर्नुका साथै तदर्थ समितिलाई आबस्यक सहयोग गर्न सधैं तत्पर रहेको धारणा राखेका थिए ।
यस अघि उक्त कार्यक्रम नेपाली राजदुतावास यूएइमा गर्ने जानकारी गराइएको भए पनि दुतावासमा हुन नसकेकामा सबैले चिन्ता ब्यक्त गरेका थिए । कार्यक्रम् संचालक समाजका निबर्तमान सचिबले कार्यक्रमको सुरुवातमै प्राबिधिक कारणबस दुतावासमा हस्तान्तरण कार्यक्रम आयोजना गर्न नसकिएकोमा दु:ख ब्यक्त गरेका थिए ।
उक्त औपचारिक कार्यक्रम सकिए लगत्तै नेपाली समाज यूएइको तदर्थ समितिका संयोजक राजु गुरुङको अध्यक्षतामा बसेको तदर्थ समितिको बैठकले समाजको आगामी निर्वाचन सहज तरिकाले सम्पन्न गर्ने हेतुले बर्तमान ३ सदस्यिय निर्वाचन समितिमा २ सदस्य थप गरि ५ सदस्यिय निर्वाचन समिति बनाउने निर्णय गरेको छ । उक्त निर्णय अनुसार आबुधाबी बाट उत्तम अधिकारी र शारजाह बाट राम बहादुर गुरुङलाई निर्वाचन समितिमा चयन गरेको छ । त्यसैगरी तदर्थ समितिको सचिबमा समितिकै सदस्य भारत राना र आर्थिक संयोजकमा समितिकै सदस्य कृष्ण प्रसाद भुसाललाई चयन गरेको छ ।
स्मरण रहोस् गत फेब्रुअरी १ का दिन सम्पन्न नेपाली समाज यूएइको परिषद भेलाले कृष्ण बहादुर ढकाल नेत्रित्वको कार्य समितिलाई बिघटन गरि राजु गुरुङको संयोजकत्वमा ७ सदस्यिय तदर्थ समितिको चयन् गरेर ३ महिना भित्रमा नयाँ कार्य समितिको निर्वाचन सम्पन्न गराउने जिम्मेवारी सुम्पेको हो ।