नेपालमा खोलिएका भारतीय स्कुलको आफनै मनोमानी
काठमाडौं, १४ फागुन - भारतीय सम्बन्धन लिएर नेपालमा सीधै खोलिएका स्कुलहरू सरकारी नियमअनुसार सञ्चालन नभएको पाएपछि शिक्षा विभागले अनुगमन र कारबाहीको तयारी गरेको छ । भारतीयसँगसँगै नेपालको उच्च माध्यमिक शिक्षा परिषद्को समेत स्वीकृति लिनुपर्ने व्यवस्था लत्याई आफूखुसी सञ्चालन भइरहेका आधा दर्जन स्कुल कारबाहीमा पर्ने विभागले जनाएको छ ।नेपालस्थित कूटनीतिक नियोगका कर्मचारीका छोराछोरीले मात्र अध्ययन गर्न पाउने गरी सम्बन्धित देशको सम्बन्धन लिई एउटासम्म स्कुल सञ्चालन गर्न पाउने कानुनी व्यवस्था छ । तर, नेपालमा सञ्चालित कतिपय स्कुलमा नेपाली विद्यार्थीले समेत निर्वाध रूपमा अध्ययन गरिहेका छन् । शिक्षा मन्त्रालयमा अनिवार्य दर्ता हुनुपर्ने व्यवस्थाविपरीत भारतीय सम्बन्धनमा मात्रै आधा दर्जनभन्दा बढी स्कुल लामो समयदेखि सञ्चालनमा छन् ।
ललितपुरमा डीएभी सुशील केडिया तथा काठमाडौंमा चाँदबाग, राई, आलोक विद्याश्रम, दिल्ली पब्लिक, मोर्डन इन्डियन, नेपाल–भारत मैत्री विद्याश्रमलगायतका स्कुल सञ्चालनमा छन् । बिनादर्ता सञ्चालन हुँदा उनीहरूले सरकारलाई करसमेत बुझाउँदैनन् । भारतीय सम्बन्धनमा सञ्चालित स्कुलले गौतमबुद्ध लुम्बिनीमा जन्मिएको र लुम्बिनी भारतमा पर्ने भन्नेजस्ता विवादास्पद विषयलाई पाठ्यक्रममा उल्लेख गरेको विभागले जनाएको छ । ती स्कुलले राष्ट्रिय जनावर, पन्छी, फूल र राष्ट्रगान पनि भारतकै पढाउने गरेका छन ।